काठमाण्डु – नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। भोलि अर्थात कात्तिक ८ गते कुमारी बैंक र शिवम् सिमेन्ट्सले बुकक्लोज गर्दैछन् । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी दुई वटै कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक १६ गते आफ्नो नक्साल कार्यालयमा एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ । सो सभामा अनलाइनमार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ ।
सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
गत आर्थिक २०७७/०७८ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न शिवम सिमेन्ट्सले कात्तिक १६ गते मंगलबार, होटल सोल्टी काठमाण्डुमा बिहान १० बजे छैठौं वार्षिक साधारण सभा डाकेको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, कम्पनीको चुक्ता पूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।
कात्तिक ४ गते बिहीबार कुमारी बैंकको २७८ रुपैयाँमा र शिवमको १२२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।




प्रतिक्रिया