काठमाण्डु – प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले बाढीपहिरोका कारण अवरुद्ध रहेका सडक तथा पुल तत्काल खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले कात्तिकमा परेको वर्षाका कारण अझै मनाङ, बझाङ, बाजुरालगायत जिल्लाका सडक विच्छेद भएकाले अस्थायी रुपमा भए पनि तत्काल यातायात सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । समितिले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना १४ वर्षमा ५८ प्रतिशत मात्रै सम्पन्न भएकाले सो आयोजना अबको दुई वर्षमा सम्पन्न हुनसक्ने आधार प्रस्ट पार्न पनि निर्देशन दिएको छ ।
समितिले विसं २०७६ जेठमा ठेक्काको अवधि निर्धारण गर्दा भूगोल, निर्माण सामग्रीको उपलब्धतालगायत विषयमा ध्यान दिन आजको बैठकले सोको कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । हाल पहाड, हिमाल र तराईमा एउटै अवधि राख्ने गरिएको भए पनि हिमालमा मौसमका कारण चार महिना मात्रै काम गर्न सकिने भएकाले यसलाई ध्यान दिएर समय निर्धारण गर्न भनिएको हो ।
नेपाल प्राकतिक प्रकोपको उच्च जोखिममा रहेको र बर्सेनि बाढी पहिराले गर्दा क्षति भइरहेकाले त्यसलाई न्यूनीकरणका लागि दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र खोजी गर्न र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन समेत समितिले गृह मन्त्रालयलाई निर्देशन गरेको छ ।
समितिको बैठकमा मन्त्रालयले बाढी, पहिराका कारण अवरुद्ध सडक खुलाउन गरिरहेको पहलबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले द्रुत गतिमा काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । ढिलासुस्ती नगरी द्रुत गतिमा काम गर्नुपर्नेमा उनको जोड छ । देशभरका धेरै सडकको अवस्था खराब भएकाले त्यसको समाधानमा ध्यान दिइनुपर्ने उनले बताइन् ।




प्रतिक्रिया