काठमाण्डु – चुरोट सेवन गर्ने युवाहरुमा हृदयघात हुने सम्भावना ८ गुणाले बढी हुने विज्ञहरुले बताएका छन् ।
एक्सन नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य पत्रकार मञ्च, द यूनियन र एपिक्याटको संयुक्त आयोजनामा गरिएको सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी बहुपक्षीय पैरवी बैठकमा शहिद गंगालाल ह्दयरोग प्रतिष्ठानका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा चन्द्रमणी अधिकारीले चुरोट सेवन नगर्ने भन्दा गर्ने युवाहरुमा हृदयघात हुने जोखिम ८ गुणाले बढी हुने बताए ।
पछिल्ला अध्यनहरुले नेपालमा सूर्तीजन्य पदार्थ सेवन गर्ने युवाहरुको संख्या बढीरहेको उनको भनाइ छ । पहिले पहिले नेपालमा ४० बर्ष भन्दा कम उमेरमा हृदयघातको समस्या नदेखिएको भएपनि पछिल्ला दिनहरुमा २५ बर्षका युवाहरुलाई पनि हृदयघात देखिएको बताए ।पछिल्ला समयमा चुरोट सेवन गर्ने महिलाहरु पनि बढेको जानकारी दिए । पुरुषको तुलनामा महिलामा हृदयघातको जोखिम बढी हुने डा अधिकारीले बताए ।
चुरोट सेवन गर्ने पुरुषहरुमा ८ गुणा बढी जोखिम भएपनि महिलाहरुमा भने १३ गुणा बढी जोखिम हुने अध्यनन्हरुले देखाएको उनको भनाई छ । कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सुर्ती उद्योगहरुले आफनो व्यापार विस्तार गर्नका लागि विभिन्न उपायहरु अपनाएर झुक्याउने गरेको र त्यसमा सामाजिक उत्तरदायित्वको नाममा आर्थिक सहयोग गरेर लोभ्याउने गरेको पाइएको बताएका थिए ।
उनले कोभिड महामारीका बेला पनि नेपालमा केही ठूला सुर्ती उद्योेगीले नेताहरुलाई नै प्रभावित पारेको भन्दै यसरी सरकारले सुर्ती कम्पनीको कुनै पनि सहयोग लिनु कानून विपरित भएको बताए ।




प्रतिक्रिया