एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको मान्यता दिएका छन् । उनले दुवै क्षेत्रलाई अलग देशको मान्यता दिंदै सोमबार राति विद्रोहीसंग सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । यो क्षेत्रमा रुसको साथ पाएका विद्रोहीहरुको नियन्त्रण थियो । उनिहरुले युक्रेनसंग २०१४ देखि लड्दै आएका छन् ।
राष्ट्रपति पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिइसकेका छन् । पुटिनले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनाले भूमिका खेल्ने बताएका छन् ।
पुटिनको सम्बोधनभन्दा पहिलो पृथकतावादी नेताहरुले टेलिभिजनमा सम्बोधन गर्दै दुवै क्षेत्रमा स्वतन्त्रताको मान्यता दिन माग गर्नुका साथै मित्रता संन्धीमा हस्ताक्षर गरेर युक्रेनी सेनाको आक्रमणबाट बच्नको लागी सैन्य सहायता पठाउन रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका थिए । उनिहरुको आग्रहपछी रुसी सेना सो क्षेत्रमा तैनाथ भइसकेको छ । यो निर्णयसंगै युक्रेनमा रुसी सेनाको प्रवेश भएको छ ।
उनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र भएको दावी गरे । पुटिनले युक्रेन अमेरिकाको कठपुतली भएको भन्दै उसको असल राष्ट्रको इतिहास नभएको आरोप लगाए । युक्रेन नाटोमा सामेल सामेल हुने निर्णयको उनले विरोध गर्दै आएका थिए । पुटिनले त्यसबाट रुसलाई सुरक्षा खतरा बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले यसअघि नै रुससंग सीमा जोडिएका देशलाई नाटोमा सामेल गर्ने निर्णय आफुलाई मान्य नहुने बताउंदै आएका छन् ।
पुटिनले युक्रेनले आणविक हतियार बनाउन लागेको आरोप समेत लगाए । अमेरिका र नाटो मिलेर युक्रेनलाई युद्ध मैदान बनाएको उनको भनाई थियो ।
पुटिनको घोषणापछी अमेरिकी राष्ट्रपनि जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरस र युरोपेली संघका नेताहरुले रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लघंन भएको भन्दै कडा शब्दमा विरोध जनाएका छन् ।
पश्चिमा राष्ट्रहरुले रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी गरेका छन् । यस्तै युक्रेनी सैनिकले जवाफी कारवाही गर्ने सम्भावना पनि छ । तर, रुसले भने युक्रेनमाथी आक्रमण गर्ने कुनै योजना नभएको दावी गर्दै आएको छ ।
रुसले आफ्नो क्षेत्रलाई अलग देशको मान्यता दिएर सेना पठाउने निर्णय गरेसंगै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिभिजनमार्फत सम्बोधन गरेर कडा निन्दा गरेका छन् । रुसले शान्ति वार्ता कमजोर बनाएको आरोप लगाउंदै उनले रुसले दक्षिणपूर्वी युक्रेनको बिद्रोही नियन्त्रित क्षेत्रलाई दिएको मान्यता खारेज गरेका छन् ।
रुसले युक्रेनमाथी सैन्य अक्रमण गर्न सबैतिरबाट सेना परिचालन गरेको छ ।
उसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ । अमेरिका,बेलायतलगायतका देशले रुसले युक्रेनमाथी कुनै पनि बेला आक्रमण गर्न सक्ने आंकलन गरेका छन् ।
रुसमाथि अमेरिका, बेलायत र युरोपेली देशहरुले कडा प्रतिबन्धको तयारी गरेका छन् । युक्रेनले संयुक्त राष्ट्रसंघसँग तत्काल सुरक्षा परिषदको बैठक बोलाउन आग्रह गरेको छ । उसको आग्रहपछी मंगलबार नै सुरक्षा परिषदको बैठक बस्ने भएको छ ।




प्रतिक्रिया