काठमाण्डु – स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रम गर्दा जानकारी गराउनु पर्ने भएको छ । निर्वाचन आयोगले मंगलबार जारी गरेको दलहरुको प्रतिबद्धता एवं निर्देशनमा अनुमति बिना सार्वजनिक स्थलमा चुनावी कार्यक्रम गर्न नपाइने बताएको हो ।
आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।
निर्वाचन आयोगको निर्देशनमा भनिएको छ ’स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने। जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने ।’
त्यस्तै आयोगले जुलुस वा आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेद्वारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नहुने निर्देशनमा उल्लेख गरेको छ ।
त्यस्तै आयोगले चुनाव प्रचार प्रसारको समय तोकेको छ । चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ ।
आयोगले जुलुस, आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने उल्लेख गरेको छ ।
यस्तै दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न पनि रोक लगाएको छ । यस्तै कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नपाइने पनि आयोगले भनेको छ ।




प्रतिक्रिया