काठमाण्डु – अभिनेता भुवन केसीले काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि कलाकारहरुले पनि उम्मेद्वारी घोषणा गरिरहेका बेला अभिनेता भुवन केसीले पनि काठमाण्डु महानगरको मेयरमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
उनले स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिने भएका हुन् ।मंगलबार बसेको उक्त पार्टीको केन्द्रीय कार्य समितिको बैठकले काठमाण्डु महानगरको मेयरका लागि केसीलाई छानेको हो । त्यस्तै, पार्टीले उपमेयरका लागि शहरीय गरिबीको अनुसन्धाकर्मी रेश्मा लामालाई चयन गरेको छ । केसीलाई मंगलबारकै बैठकबाट पार्टीले परराष्ट्र विभागको जिम्मेवारी पनि दिएको छ ।
दोस्रो संविधानसभाको चुनावताका कलाकारको नेता बन्ने लहरका बीच एमाले पार्टीमा प्रवेश गरेका भुवन केसी केही समययता राप्रपा पार्टीमा प्रवेश गर्ने चर्चा थियो । उनलाई दोस्रो संविधान सभाको चुनावमा एमालेले काठमाण्डु क्षेत्र नम्बर १ बाट चुनावमा उठाउने आशा पनि देखाएको थियो । पार्टीबाट टिकट पाउन दिनरात खटेका केसी अन्ततः खाली हात भएका थिए । त्यसयता पनि पटक पटक उनले आफू ‘जन्मेदेखि नै एमाले’ भन्दै आएका थिए ।
तर, पछिल्ला केही वर्षदेखि केसी राजनीतिक रुपमा सक्रिय थिएनन् । आगामी स्थानीय तहको चुनावमा भने फेरि उनी राजनीतिक रुपमा सक्रिय हुने देखिएका छन् । जसअनुसार उनले स्वागत नेपाल नेतृत्वको पार्टीबाट काठमाण्डु महानगरपालिकाको मेयर पदका लागि उम्मेद्वारी दिने भएका छन् ।
काठमाडौं महानगरपालिकाकै मेयर पदका लागि चुनावी मैदानमा उत्रिने अन्य कलाकारले पनि घोषणा गरेका छन् । ¥यापर बालेन शाहदेखि मिस नेवा तथा सञ्चारकर्मी सुनिता ढंगोलले पनि मेयर पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।




प्रतिक्रिया