काठमाण्डु – दाङका दुईवटा उपमहानगरमध्ये घोराही सबैभन्दा ठूलो सहर हो । जिल्ला सदरमुकामसमेत रहेको घोराहीमा राजनीतिक सरगर्मी बढेको छ । गत चुनावमा यो उपमहानगरमा एमालेले जित हासिल गरेको थियो । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला भएकाले पनि यो उपमहानगरको चुनावलाई चासोका साथ हेरिएको छ ।
वैशाख ३० गते हुन लागेको निर्वाचनमा यो उपमहानगरमा पनि मुख्यतः एमाले र कांग्रेसबीचमै प्रतिस्पर्धा हुने देखिन्छ । तर, यहाँ माओवादीको पनि राम्रो प्रभाव छ । जिल्लाको अर्को उपमहानगर तुलसीपुरको मेयर कांग्रेसले लिएर घोराहीमा माओवादीलाई समर्थन गर्ने चर्चा पनि चलिरहेको छ । चुनावमा उम्मेदवारीका लागि आकांक्षीको संख्या पनि बढ्दै गएको छ ।
गत चुनावको परिणाम
०७४ सालको स्थानीय चुनावमा यो उपमहानगरको मेयरमा एमालेका नरुलाल चौधरी २२ हजार ३० मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार चार सय ८४ मात्रै मत ल्याए । तेस्रो स्थानमा रहेको माओवादीका जीवन गौतमले १२ हजार ८३ मत ल्याए ।
एमालेकै सीता सिग्देल न्यौपाने २० हजार सात सय ९२ मत पाएर उपमेयरमा विजयी भइन् । कांग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६ सय तीन र माओवादीकी सीता शर्माले १२ हजार आठ सय २४ मत पाइन् । १९ वडा रहेको घोराहीमा वडाध्यक्ष पनि एमालेले धेरै जित्यो । उसले १० वडाध्यक्ष जित्दा कांग्रेसले ६ र माओवादीले तीनवटा वडा कब्जा गर्याे ।
सम्भावित परिणामका फ्याक्टर
विगतको परिणाम हेर्ने हो भने घोराहीमा आगामी चुनावको नतिजाका लागि दलीय समीकरण नै मुख्य फ्याक्टर हुने देखिएको छ । किनकि मेयरमा कांग्रेस र माओवादीले पाएको मत जोड्दा विजयी एमालेको भन्दा निकै धेरै हुन्छ । त्यसैले कांग्रेस र माओवादीबीच समीकरण बन्यो भने यो उपमहानगरमा एमाले धेरै मतले पछि पर्ने निश्चित छ । त्यसमा पनि एमाले विभाजनको असर यहाँ उल्लेख्य परेको छ । एकीकृत समाजवादीले पनि केही हजार मत ल्याउने अनुमान गरिएको छ ।
यदि सत्तासाझेदार दलबीच गठबन्धन भएन भने प्रतिस्पर्धा हुन सक्छ । त्यसमा एकीकृत समाजवादीले कति मत काट्छ भन्नेले नै चुनावी नतिजा तय गर्न सक्छ । यसबाहेक थपिएका मतदाता र उम्मेदवारको प्रभावले पनि केही हजार मत तलमाथि हुन सक्नेछ । घोराहीमा थारू समुदायको पनि उल्लेख्य मत छ । कांग्रेस र माओवादीको बीचमा दाङका दुई उपमहानगरको नेतृत्व बाँड्नेबारे छलफल चलिरहेको छ, तर सहमति जुटिसकेको छैन । यदि त्यसो भयो भने एमालेलाई चुनावमा ठूलो झट्का लाग्नेछ ।
मेयरका सम्भावित उम्मेदवार
यो उपमहानगरमा मेयरका लागि पुरानै उम्मेदवारको बढी चर्चा देखिन्छ । एमालेबाट हालका मेयर नरुलाल चौधरीको नाम चर्चामा छ । उनी पार्टी महासचिव शंकर पोखरेलका विश्वासपात्र मानिन्छन् । यसबाहेक नेताहरू राममणि पाण्डे र भरत अर्यालले पनि दाबी गरिरहेका छन् । तर, महासचिवको आशीर्वाद रहेकाले चौधरी नै पुनः उम्मेदवार हुने सम्भावना छ । कांग्रेसबाट पनि ०७४ का उम्मेदवार भूपबहादुर डाँगी मुख्य दाबेदार देखिएका छन् ।
यसबाहेक किशोरचन्द्र गौतम र प्रकाश श्रेष्ठ पनि आकांक्षी छन् । माओवादीबाट अघिल्लोपटक उम्मेदवार बनेका जीवन गौतम नै यसपटक पनि मेयरका लागि मुख्य दाबेदार देखिन्छन् । उनी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पनि हुन् । यसबाहेक अर्का केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमन्ड’को नाम पनि मेयरको उम्मेदवारका रूपमा चर्चामा छ । उनी नेता कृष्णबहादुर महरानिकट मानिन्छन् ।
मतदाता संख्या
घोराही दाङकै सबैभन्दा ठूलो स्थानीय तह हो । यो उपमहानगरमा एक लाख १२ हजार नौ सय २७ मतदाता पुगेका छन् । जसमा पुरुष ५४ हजार दुई सय २१ र महिला ५८ हजार सात सय ६ जना छन् । ०७४ को चुनावमा घोराहीमा ३७ हजार सात सय ८७ पुरुष र ४० हजार ६ सय ४० महिला गरी कुल ७८ हजार चार सय २७ मतदाता थिए ।





प्रतिक्रिया