काठमाण्डु – मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा पनि चुनावी सरगर्मी बढ्दैछ । मधेस केन्द्रीत दलको प्रभाव रहेको यो उपमहानगरमा गत चुनावमा तत्कालिन राष्ट्रिय जनता पार्टी राजपाले जितेको थियो ।
जनकपुरधाममा मुख्यत मधेस केन्द्रीत दल र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यहाँ एमाले र माओवादी केन्द्रको संगठन कमजोर छ ।
गत चुनावको परिणाम
गत स्थानीय तह निर्वाचनमा महन्थ ठाकुरले नेतृत्व गरेको राजपाबाट लाल किसोर साह मेयरमा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका मनोजकुमार साह सुडीलाई १० हजार ७ सय ३९ मतान्तरले पराजित गरे । लालकिसोरले २१ हजार ९०३ मत पाउँदा मनोजको पक्षमा ११ हजार १६४ मत मात्र आयो । नेकपा एमाले तेस्रो, तत्कालिन संघीय समाजवादी फोरम चौथो र माओवादी केन्द्र पाँचौं स्थानमा रहे ।
एमालेका लक्ष्मी नारायण भगतले ४ हजार ८६५, फोरमका विष्णुदेव साहले ३ हजार ६१२ र माओवादीका चन्द्र शेखर साहले २ हजार १२८ मत मात्रै पाए । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका हंशराज साह नुनियारको ६५४ र तत्कालिन नयाँ शक्ति पार्टीका उमेश साहले ५ सय ८८ मत पाए । उपमेयरमा पनि राजपाकै रिताकुमारी मिश्र निर्वाचित भइन् । उनले नेपाली कांग्रेसकी निलमदेवी कर्णलाई ६ हजार ५४२ मतान्तरले पराजित गरिन् ।
मिश्रले १७ हजार १४७ मत ल्याउँला कर्णको पक्षमा १० हजार ६०५ मत आयो । तेस्रो रहेको एमालेकी पुनमकुमारी मिश्राले ४ हजार ९७२, संघीय समाजवादी फोरमकी रिताकुमारी यादवको ४ हजार २८९ मत आयो । माओवादीका उम्मेदवार अम्बिका कुमारीलाई स्वतन्त्र उम्मेदवार राकेश विक्रम साहले पछि पारे । राकेशले २ हजार ४६८ मत ल्याउँदा अम्बिकाको २ हजार २५१ मत मात्र आयो । २५ वडा रहेको जनकपुरका धेरै वडाध्यक्ष पनि राजपाले नै जित्यो । १२ वटा वडामा अध्यक्ष राजपाले जित्दा ७ वडाध्यक्ष कांग्रेसले, तीन संघीय समाजवादी फोरमले, एमाले २ र एक स्वतन्त्रले जिते ।
विभाजनको असर र संभावित गठबन्धन र परिणाम
जनकपुरधाममा चुनाव जितेको पार्टी अर्को दलसँग एकता भएर पनि फेरी विभाजित भएको छ । मेयर आफैले पार्टी परिवर्तन गरेका छन् । तत्कालिन राजपा र सजपाबीच एकता भएर बनेको जसपाबाट पनि अहिले एउटा समूह बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी अर्थात लोसपा बनेको छ । तत्कालिन राजपाको नेतृत्व गरेका महन्थ ठाकुरले नै अहिले लोसपा पनि चलाईरहेका छन् । तर तत्कालिन राजपाबाट जितेका मेयर शाह भने यो पटक जसपामै बसेका छन् ।
यसले लोसपालाई झट्का लागेको छ । संघीय सरकारमा गठबन्धन गरिरहेका पाँच दलबीच तालमेलको तयारी भैरहेको छ । जनकपुरधाममा पनि यसले प्रभाव पार्ने निश्चित छ । यदि पाँच दलबीच गठबन्धन बन्यो भने जनकपुरधाममा एमाले र लोसपाबीच पनि तालमेलको संभावना छ । राजपाले जिते पनि यो पाँच वर्षमा मेयर र वडाध्यक्षबीच निकै ठुलो मतभेद भएको थियो । त्यसैले जसपाले कसलाई अगाडी सार्छ भन्ने पनि अहिलेको चासोको विषय बनेको छ । गठबन्धन बन्दा जसपा र कांग्रेस दुबैले मेयरमा दाबी गरिरहेका छन् । यसले पनि समस्या भएको छ ।
जनकपुरधामको चुनावमा अब कस्तो परिणाम आउछ भन्ने अहिले नै आकलन गर्न अप्ठेरो छ । किनकी कस्तो गठबन्धन बन्छ र त्यसबाट को उम्मेद्वार बन्छन् भन्ने स्पष्ट भएको छैन । यदि सत्ता साझेदार दलबीच गठबन्धन बन्यो र लोकप्रिय उम्मेद्वार अघि सार्न सके उसकै पल्ला भारि हुन सक्छ । मेयर जसपामा गए पनि शहरमा लोसपाको प्रभाव कायमै छ । उसले एमालेसँग तालमेल गरेर राम्रो उम्मेद्वार उठायो भने प्रतिस्पर्धा रोचक हुन सक्छ ।
मेयर साहको कार्यकाल सन्तोषजनक नरहेकाले त्यसको फाइदा लोसपालाई हुन सक्छ । शाह जसपामा लागे पनि उपमेयर रीता झासहित १२ जना वडाध्यक्ष अहिले पनि लोसपामा छन् । यद्यपी लोसपालाई पनि सजिलो छैन । उसका केही चर्चित अनुहार अहिले पार्टीमा छैनन् । राष्ट्रियसभाका पूर्व सदस्य वृषेशचन्द्र लाल र संविधानसभा सदस्य डा। विजय सिंहले लोसपा छाडेर गरी तराई मधेस लोकतान्त्रिक पार्टी बनाएका छन् । लालको जनकपुरधामा राम्रो प्रभाव छ । उनले यसअघि स्वतन्त्र उम्मेद्वार भएरै मेयर जितेका थिए । यी सबै समिकरण हेर्दा जनकपुरधामको आगामी चुनाव कसले जित्छ भनेर एकिन गर्न गाह्रो छ ।
संभावित उम्मेद्वार
जनता समाजवादी पार्टीबाट हालका मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह र युवा नेता बजरंग यादवको चर्चा छ । मेयर साहलाई फेरि पनि टिकट दिने आश्वासन दिएर लोसपामा जानबाट रोकिएकाले उनले नै बाजी मार्ने जसपाका स्थानीय नेता बताउँछन् । कांग्रेसबाट बजरंग साह र नगरसभापति मनोज साहको नाम मेयरको उम्मेद्वारका लागि चर्चामा छ । मनोज अघिल्लो चुनावमा पनि कांग्रेसका प्रत्यासी थिए । बजरंग पुर्व मेयर हुन् ।
लोसपाबाट नगर अध्यक्ष मनोज चौधरी, प्रदेशसभा सदस्य परमेश्वर साह, वडाध्यक्ष जानकीराम साह, अमर पजियार र संजय चौधरीको नाम सिफारिस भएको छ । एमालेबाट हिकम राइन, जनकपुर नगरका सभापति सुरेन्द्र भण्डारी, जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह हिरा, कामेश्वर महता, उमेश चौधरी लगायतले दाबेदारी पेश गरेका छन् । माओवादी र एकीकृत समाजवादीमा भने उम्मेद्वारबारे अहिलेसम्म खासै चर्चा भएको छैन ।
जनसंख्या र मतदाता
०७४ को निर्वाचनमा ७५ हजार ७६५ मतदाता रहेकोमा चुनावमा खसेको मतको ४५ हजार ७९६ मत सदर भएको थियो । अहिले मतदाताको संख्या बढेको छ । अहिले जनकपुर उपमहानगरमा ११ हजार १७५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँको मतदाता संख्या ८६ हजार ९ सय ४० पुगेको छ ।





प्रतिक्रिया