काठमाण्डु- नेपाली सेनाले दक्षिण कोरियाबाट ल्याएको हतियारमा समस्या देखिएको छ । नेपाली सेनाका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा दक्षिण कोरियाबाट ल्याइएको केटू हतियारमा समस्या देखिएको स्रोतको दावी छ ।
संचारमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीका भाई लोकेन्द्र कार्कीले उक्त हतियार ल्याउन विचौलियाको भूमिका खेलेका थिए । त्यसमा तत्कालिन प्रधानसेनापति थापाका रायमाझी थरका नातेदार समेत अघोषित साझेदार भएको स्रोतको दावी छ ।
सेनाले हतियार सुरुमा अमेरिकाबाट खरिद गर्न पहल गरेको थियो । तर, एम १६ उत्पादन गर्ने अमेरिकन कम्पनीले भनेजति कमिशन दिन सहमत नभएपछी कार्कीकै डिजाइनमा सेनाले कोरियाबाट हतियार नेपाल ल्याएको थियो ।
सेनाले कोरियन कम्पनी डेउ प्रिसिजन इन्डस्ट्रिजबाट जीटूजीमा करीब डेढ अर्ब बराबरको हतियार खरिद गरेको हो । सेनाले कोरियाबाट ९ सय डलरका दरले ३० हजार थान केटूसी वन असल्ट राइफल खरिद गरिसकेको छ । तत्कालिन प्रधानसेनापति थापाले सबै पल्टनमा हतियारमा एकरुपता ल्याउने भन्दै अत्याधुनिक हतियार व्यवस्थित गर्ने योजना अघि सारेका थिए ।
सेनाले कोरियाबाट खरिद गरेको उक्त हतियार फिल्ड परिक्षणका क्रममा ब्यारेल तात्ने गरेको,ककिङ हयाण्डल भांच्चिने र नपडकिने समस्या देखिएको सैनिक स्रोत बताउंछ । उक्त हतियारमा पांच गोली पड्के छैटो नपड्किने समेत समस्या देखिएको सेनाका एक उच्च अधिकारीले बताए ।
अमेरिकी हतियार एम १६ र इजरायली हतियार गलिल ल्याउने सेनाको चाहना विपरित त्यतिबेला सेनामा यसअघि एक थान पनि नभएको के टू हतियार ल्याइएको थियो ।
के टू सिरिजका हतियार एम १६ सरह भनिएपनि यो हतियार शक्तिशाली देशका सेनाले भने प्रयोग गरेका छैनन् । के टू हतियार फिजी,नाइजेरिया कम्बोडिया,पेरु,सेनेगल र इराकी सेनाले प्रयोग गरिरहेको छ । नेपाली सेनामा केटू हतियार इन्फ्रेन्ट्री फौंजले प्रयोग गरिरहेको छ ।
‘के टू हतियारमा कैफियत देखिएको फिल्डको रिपोर्ट छ । यसअघि एम १६ खरिद गर्ने सेनाको चांहना विपरित केही हतियार व्यापारीको लहलहैमा लागेर के टू राइफल ल्याउने काम भयो । अहिले त्यो हतियारमा समस्या देखियो । ’ सेनाका एक उच्च अधिकारीले काठमाण्डुपाटीसंग भने ।
सेनामा फेरी केटू हतियार ल्याउने खेल
नेपाली सेनाले करिव ६ महिना अघि दुई अर्ब रुपैयांको हतियार खरिद गर्नका लागि काठमाण्डुस्थित ३ वटा दूतावासलाई पत्राचार गरेको थियो । अमेरिका, इजरायल र कोरियन दूतावासले नेपाली सेनालाई कोटेशन बुझाएको थियो । सेनाले तिनै दूतावासले बुझाएको कोटेशन महंगो भएको भन्दै फेरी कोटेशन पठाउन भनेको थियो ।
तिनै दूतावासले सेनालाई पठाएको कोटेशनमा कोरियन कम्पनीको सबैभन्दा कम मुल्य परेको थियो । त्यसपछि सेनाका सम्भारथी विभागका प्रमुख रहेका उपरथी ताराध्वज पाण्डेले उक्त हतियार ल्याउने भन्दै टिप्पणी उठाएर प्रधानसेनापति प्रभुराम शर्मालाई स्विकृतीका लागि पत्र अघि बढाएका थिए ।
पाण्डे यसअघिका प्रधानसेनापति थापा निकट हुन् । उनलाई थापाले नै सम्भारथीमा ल्याएका हुन् । पाण्डेको सेनामा ब्रोकरको काम गर्ने कार्कीसंग समेत निकट सम्बन्ध छ । प्रधानसेनापति शर्माले के टू हतियारको फिल्ड परिक्षण गरेर रिपोर्ट दिन निर्देशन दिएपछी धेरैजसोले उक्त हतियारमा समस्या देखिएको भन्दै रिपोर्ट गरेको स्रोत बताउंछ ।
सेनाका धेरै युनिटले समस्या भएको रिपोर्ट गरेसंगै अहिले उक्त हतियार खरिद प्रक्रिया रोक्का भएको छ । अमेरिका र इजरायली कम्पनीका हतियार एम १६ र गलिल लिन अहिले सेनामा लविङ भइरहेको छ । उपरथी पाण्डे भने केटू हतियार नल्याउने प्रधानसेनापतिको निर्णयबाट दुखी बनेको सैनिक स्रोत बताउंछ । पाण्डेको सम्भारथीबाट सरुवाको तयारी भएको सेनाका एक उपरथीले बताए ।
प्रधानसेनापति थापाले आफुले अवकास पाउनुअघि कोलोदिङ आइटम किन्न आएको २ अर्ब ३० करोड बजेट रकमान्तर गरेर हतियार खरिद गर्ने शिर्षकमा राखेका थिए । सम्भाररथी पाण्डेले समेत आफु सम्भारमा आउने वित्तिकै के टू खरिदको फाइल अघि बढाएका हुन् । यसबाट पनि थापा र पाण्डेको मिलेमतोमा कार्कीलाई पोस्न उक्त हतियार ल्याउने खेल भएको देखिन्छ ।
के टू हतियारमा समस्या भएपछी सेनाले अर्थतन्त्र तहस नहस भएको बेला ६ हजार थान एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने प्रक्रिया समेत अघि बढाएको छ ।
सैनिक प्रवक्ता समेत रहेका सहायकरथी नारायण सिलवालले भने हतियार खरिद प्रक्रियाबारे आफुलाई जानकारी नभएको बताए । उनले केटू हतियारमा आएको समस्याबारे समेत अनविज्ञता प्रकट गरेका छन् ।




प्रतिक्रिया