काठमाण्डु – प्रदेश १ मा पर्ने तराईको जिल्ला हो सुनसरी । जनसंख्या र स्थानीय तहका हिसाबले यो ठूलो जिल्ला हो । १२ वटा पालिका रहेको सुनसरीमा दुईवटा उपमहानगरपालिका, चार नगरपालिका र ६ वटा गाउँपालिका छन् ।
जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित दलको प्रभाव छ । ०७४ सालको चुनावलाई आधार मान्ने हो भने सुनसरीमा कांग्रेस सबैभन्दा बलियो छ । जिल्लामा राम्रै पकड भएको तत्कालीन फोरम लोकतान्त्रिकसमेत मिलेपछि कांग्रेस झन् मजबुत भएको छ ।
कांग्रेस र फोरम लोकतान्त्रिकले जिल्लाका नौवटा स्थानीय तह जितेका छन् । एमालेले दुईवटा र तत्कालीन संघीय समाजवादी फोरमले एउटामा नेतृत्व जितेको थियो । दुईवटा उपमहानगरमध्ये एउटामा एमाले र एउटामा कांग्रेसको नेतृत्व छ ।
कांग्रेसले धरान उपमहानगरपालिकाको नेतृत्व भने उपनिर्वाचनमा जितेको हो । जहाँ ०७४ सालमा एमालेले जितेको थियो । कांग्रेसले इनरुवा र बराह नगरपालिकामा मेयर–उपमेयर तथा हरिनगर, गढी र देवानगन्ज गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै जित्यो । त्यसबाहेक उसले रामधुनी नगरपालिकाको मेयर र कोसी गाउँपालिकाको उपाध्यक्षमा पनि सफलता पायो । पछि कांग्रेसमा मिलेको फोरम लोकतान्त्रिकले दुहबी नगरपालिका र बर्जु गाउँपालिकामा प्रमुख–उपप्रमुख नै जितेको थियो ।
यसरी मिलाउँदा जिल्लाका अधिकांश मुख्य पदमा कांग्रेसको पकड देखिन्छ । एमालेले इटहरी नगरपालिकाको मेयर–उपमेयर तथा कोसी गाउँपालिकाको अध्यक्ष मात्र जित्यो । भोक्राहा गाउँपालिका भने संघीय समाजवादी फोरमले जितेको थियो । आगामी वैशाख ३० गते हुने चुनावमा कांग्रेस नै सबैभन्दा मजबुत देखिन्छ । किनकि उसले जिल्लाको तेस्रो ठूलो दललाई पार्टीमा मिलाएको छ । अर्कातिर प्रतिस्पर्धी दल विभाजित अवस्थामा छन् ।
यहाँ सत्ता गठबन्धनकारी दलबीच तालमेलको प्रयास भए पनि असफल भएको छ । अन्य दलले कांग्रेसले घमन्ड देखाएको आरोप लगाएका छन् । हुन पनि कांग्रेसले अधिकांश पालिकामा पहिले फराकिलो मतान्तरले जित निकालेको छ । अहिले धेरै तह बाँड्ने पक्षमा कांग्रेस देखिँदैन । केन्द्रमा भएको तालमेलअनुसार दुवै उपमहानगरमा कांग्रेसले नेतृत्व पाएको छ ।
समग्रमा सुनसरीमा कांग्रेसले यसपटक विगतमा भन्दा बढी स्थानीय तह जित्ने निश्चितजस्तो देखिन्छ । एमालेमा आएको विभाजनले उसलाई झन् सहज भएको छ । केन्द्रमा भएको गठबन्धनका कारण इटहरी नगरपालिकामा समेत कांग्रेस मजबुत भएको छ । एमालेले अघिल्लोपटक ७ मतले मात्रै जितेको कोसी गाउँपालिकाको अध्यक्षसमेत यसपटक कांग्रेसले जित्न सक्ने सम्भावना छ । एक्लै बलियो भएका कारण सुनसरीमा कांग्रेसले तालमेलमा रुचि देखाएको छैन । जिल्लामा ५ लाख ३४ हजार ७ सय ६५ मतदाता छन् । तीमध्ये २ लाख ६९ हजार १ सय ४६ जना पुरुष र २ लाख ६५ हजार ६ सय १७ महिला छन् ।
















प्रतिक्रिया