काठमाण्डु – गण्डकी प्रदेशको हिमालपारिको जिल्ला मनाङमा यतिबेला चुनावी सरगर्मी बढ्दो छ । सबैभन्दा कम मतदाता रहेको मनाङमा वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दलहरूले उम्मेदवारी मनोनयनसँगै प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
जिल्लामा ६ हजार ४ सय ९६ मतदाता छन् । त्यसमध्ये ३ हजार १ सय ४८ पुरुष र ३ हजार ३ सय ४८ महिला मतदाता छन् । चार गाउँपालिका रहेको मनाङमा विगतमा जस्तै यसपटक पनि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । ०७४ को स्थानीय निर्वाचनमा एमाले र कांग्रेसले थोरै मतान्तरमा दुई–दुई पालिका जितेका थिए ।
चामे गाउँपालिकामा २ सय १४ मत ल्याएर एमालेका उम्मेदवारले अध्यक्ष जितेका थिए । पराजित भएका कांग्रेसका उम्मेदवारले १ सय ७३ मत ल्याएका थिए । उपाध्यक्ष भने ९ मतान्तरले कांग्रेसले जितेको थियो । तेस्रो प्रतिस्पर्धी माओवादीले ५२ मत ल्याएको थियो । यसबाहेक एमालेले नेस्याङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।
कांग्रेसले नार्पाभूमि गाउँपालिका अध्यक्ष जितेको थियो । उपाध्यक्ष भने स्वतन्त्रले जितेका थिए । यो पालिकामा अध्यक्ष र उपाध्यक्षसहित सबै वडाध्यक्ष सहमतिमा निर्वाचित भएका थिए । यो पालिकामा अहिले स्थानीय निर्वाचनका लागि जम्मा ४ सय ४८ मतदाता छन् । गत निर्वाचनमा कांग्रेसले नासोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।
कांग्रेसका उम्मेदवारले ५ सय ८४ र एमालेका उम्मेदवारले ४ सय ९८ मत ल्याएका थिए । उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले ५ सय ४१ र माओवादी केन्द्रका उम्मेदवारले ४ सय ६४ मत ल्याएका थिए । यसपटक कांग्रेस, एमाले, माओवादी र स्वतन्त्र गरी २ सय ९ जनाको उम्मेदवारी परेको छ । केही वडामा एमाले, कांग्रेस, माओवादी र स्वतन्त्रबाट एकल उम्मेदवारी परेपछि निर्विरोध भएका छन् भने नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट मात्र उम्मेदवारी परेको छ ।
तर, यसपटक एमाले विभाजन भएको छ । त्यसको फाइदा उठाउने रणनीतिमा कांग्रेस देखिन्छ भने एमालेले ०७४ को बिरासतलाई प्रतिष्ठा बनाएको छ । यद्यपि, जिल्लामा स्वतन्त्र उम्मेदवार पनि जितहारका लागि निर्णायक बन्ने गरेका उदाहरण विगतको मतपरिणामबाट देखिन्छ । त्यसकारण केही वडामा एकल उम्मेदवारी परे पनि पालिका अध्यक्षमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने देखिएको छ ।





प्रतिक्रिया