गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रेमा एमालेलाई पुरानो नतिजा दोहोर्‍याउन कठिन

गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रेमा एमालेलाई पुरानो नतिजा दोहोर्‍याउन कठिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपत्यकासँग जोडिएको जिल्ला काभ्रेमा चुनावी रौनक बढ्दो छ । बागमति प्रदेशको प्रमुख जिल्ला काभ्रे त्यहाँका सांसद एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाका कारण पनि बारम्बार चर्चामा आइरहन्छ । काभ्रेमा १३ वटा स्थानीय तह छन् । ति मध्ये ६ वटा नगरपालिका मात्रै छन् ।

गत चुनावको परिणामका आधारमा जिल्लामा नेकपा एमाले पहिलो दल हो । त्यसपछि कांग्रेस र माओवादी यहाँका प्रतिस्पर्धी दल हुन् । पछिल्लो पटक नेकपा एकीकृत समाजवादीले जिल्लामा संगठबन बनाईरहेको छ । २०७४ सालको चुनावमा नेकपा एमालेले पाँच नगरपालिकासहित सात स्थानीय तहमा जित निकालेको थियो । कांग्रेसले चार र माओवादीले दुईवटा पालिका जितेका थिए ।

यसरी हेर्दा शहरी क्षेत्रमा एमालेको बढी प्रभाव देखिन्छ भने ग्रामिण क्षेत्रमा कांग्रेस र माओवादी । एमालेले धुलिखेल, बनेपा, नमोबुद्ध, पनौति र मण्डनदेउपुर नगरपालिकाको मेयर/उपमेयर तथा खानीखोला र भूम्लु गाउँपालिकाको अध्यक्ष पनि जित्यो । कांग्रेसले पाँचखाल नगरपालिकाको मेयर/उपमेयर तथा तेमाल, बेथानचोक र रोसी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष जित्न सफलता पायो । माओवादीले चौरी देउराली र महाभारत गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष जित्यो ।

एमालेले जितेका अधिकांश पालिकामा कांग्रेस र माओवादी मिल्दा बढी मत हुन्छ । दुईवटामा भने मिल्दा पनि एमालेको जति मत पुग्दैन । एमाले मजवुत रहेको बनेपा नगरपालिकामा मेयरले नै पार्टी छाडेका छ्न। जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाप्रति आक्रोश पोख्दै उनले एमालेको साधारण सदस्यता समेत त्यागेका छन् ।

वैसाख ३० गते हुने चुनावका लागि काभ्रेमा सत्ता साझेदार दलले गठबन्धन गरेका छन् । अघिल्लो चुनावमा तीन दल एक्लाएक्लै लडेका थिए । तर यसपटक कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले सबै पालिकामा तालमेल गरेका छन् । कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिकासहित ७ स्थानीय तहको नेतृत्व पाएको छ । माओवादी केन्द्रले ४ गाउँपालिका र एकिकृत समाजवादीले २ नगरपालिकाको प्रमुख पाएको छ ।

कांग्रेसले बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध, रोशी, बेथानचोक र तेमाल, माओवादीले महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली तथा एकिकृत समाजवादीले धुलिखेल र मण्डनदेउपुरमा प्रमुख पाउने सहमति भएको छ । तर दलहरुको सहमति विपरित कतिपय पालिकामा बागी उम्मेद्वारी पनि परेको छ । यद्यपी ति सबै स्वतन्त्र रुपमा रहेकाले गठबन्धन कार्यान्वयन हुने देखिन्छ ।

गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले एमालेले काभ्रेमा पुरानी नतिजा दोहोर्याँउन कठिन छ । एकातिर एमाले विभाजन भएको छ भने अर्कातिर आन्तरिक रुपमा पनि जिल्लामा विवाद छ । बाँस्कोटा काभ्रेएमालेमा सबैको नेता हुन सकिरहेका छैनन् । त्यसवाहेक एकीकृत समाजवादी विपक्षी गठबन्धनमा मिसिएकाले एमालेलाई यो चुनाव सहज देखिदैन । तर नगरपालिकाहरुमा अहिले पनि एमाले बलियो देखिन्छ ।

एकीकृत समाजवादीले कति मत ल्याउँछ त्यसले नै कम्तिमा तीनवटा नगरपालिकाको परिणाम तय हुनेछ । विगतमा एमालेले जितेको नमोबुद्द र मण्डनदेउपुर नगरपालिका गठबन्धनका कारण यसपटक गुमाउने संभावना बढी छ । खानिखोला र भूम्लु गाउँपालिकामा पनि गठबन्धन एमाले भन्दा अघि देखिन्छ ।

यद्यपी थपिएका मतदाता र उम्मेद्वारको प्रभावले पनि चुनावी परिणाम प्रभावित हुनेछ । समग्रमा काभ्रेमा यो पटक एमालेलाई क्षति हुने निश्चित जस्तो छ । तर त्यो कति ठुलो हुन्छ भन्ने गठबन्धनको प्रभावकारितामा भर पर्नेछ । आगामी चुनावका लागि जिल्लामा ३ लाख ३ हजार ५६० मतदाता छन् । ति मध्ये १ लाख ५४ हजार १८३ पुरुष र १ लाख ४९ हजार ३७५ महिला छन् ।