दोलखामा एमालेलाई गठबन्धनको डर, पुरानो वर्चस्व कायम राख्न सक्ला ?

दोलखामा एमालेलाई गठबन्धनको डर, पुरानो वर्चस्व कायम राख्न सक्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशमा पर्ने दोलखा जिल्लामा दुईवटा नगरपालिकासहित नौवटा स्थानीय तह छन् । विगतका चुनाव हेर्दा यो जिल्लामा एमालेको वर्चस्व छ । जिल्लाका सांसद पार्वत गुरुङ अघिल्लोपटक केपी शर्मा ओली मन्त्रिपरिषद्मा समेत थिए । मुख्य प्रतिस्पर्धा भने एमाले र कांग्रेसकै बीचमा देखिन्छ ।

०७४ सालको चुनावी परिणाम हेर्दा एमाले बलियो देखिन्छ । अघिल्लो चुनावमा सातवटा पालिकामा एमालेले जित निकालेको थियो । दुईवटामा कांग्रेसले जित्यो, तर माओवादीसँग मिलेर । एमालेका लागि खुसीको खबर यो छ कि गत चुनावमा पनि अधिकांश स्थानमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा पनि उसले वर्चस्व बनाएको थियो ।

सातवटा पालिकामा दुई दल मिलेका थिए । तीमध्ये दुईमा जित निकाल्न सफल भए । पाँचवटामा भने एमालेले गठबन्धनका उम्मेदवारलाई हरायो । भीमेश्वर र जिरी नगरपालिकाको मेयर–उपमेयर तथा कालिन्चोक, गौरीशंकर, तामाकोसी, मेलुङ र शैलुङ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै एमालेले जित्यो । बिगु र वैतेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

आगामी वैशाख ३० गते हुने चुनावका लागि पनि एमाले र गठबन्धनबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । यसपटक गठबन्धनमा एकीकृत समाजवादी पनि थपिएको छ । तीन दलले जिल्लामा संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

जिरी र शैलुङमा गत चुनावमा कांग्रेस–माओवादी मिलेका थिएनन् । त्यहाँ मिल्दा एमालेको भन्दा बढी मत देखिन्छ । त्यसबाहेक मेलुङमा एमालेको मतान्तर कम छ । सत्ता गठबन्धन दलले भागबन्डा गर्दा कांग्रेसलाई चार, माओवादी केन्द्रलाई तीन र एकीकृत समाजवादीलाई दुई पालिकाको नेतृत्व दिने गरी भागबन्डा गरेका छन् । सोहीअनुसार सबै पालिकामा उम्मेदवारी दर्ता पनि भएको छ । यसले गठबन्धनमा उत्साह देखिन्छ भने एमाले सशंकित छ ।

कांग्रेसले भीमेश्वर र जिरी नगरपालिका तथा वैतेश्वर र कालिन्चोक गाउँपालिकाको प्रमुख पाएको छ । माओवादी केन्द्रले बिगु, गौरीशंकर र शैलुङ तथा एकीकृत समाजवादीले मेलुङ र तामाकोसी गाउँपालिकामा प्रमुखमा उम्मेदवारी दिएका छन् । उपप्रमुख पनि तीन दलले नै बाँडेका छन् । गठबन्धन गतिलोसँग कार्यान्वयन भयो भने एमालेसँग सबै तहमा प्रतिस्पर्धा हुन सक्छ ।

यसपटक पार्टी विभाजन भएको तथा गठबन्धनमा एकीकृत समाजवादीसमेत मिसिएकाले एमालेलाई पहिलेजस्तो सहज छैन । उसले पहिले जितेका सातमध्ये कम्तीमा तीन पालिका गुमाउन सक्छ । अघिल्लोपटक उसले दुई पालिका विपक्षीको गठबन्धन नभएका कारण जितेको थियो । यसपटक जिल्लाका सबै पालिकामा तालमेल भएको छ । तर, गठबन्धनमा असन्तुष्टि पनि छ । केही स्थानमा बागी उम्मेदवारी पनि परेको छ । त्यसबाहेक थपिएका मतदाता र उम्मेदवारको अनुहारले पनि अर्थ राख्छ ।

समग्रमा दोलखाको चुनाव यसपटक एकतर्फी भने नहुने निश्चित भएको छ । गठबन्धनका बाबजुत जिल्लामा एमाले नै ठूलो दल हुने सम्भावना देखिन्छ । आगामी चुनावका लागि दोलखामा १ लाख ६० हजार ९६ मतदाता छन् । तीमध्ये ८० हजार ५ सय ७१ पुरुष र ७९ हजार ५ सय ७९ महिला छन् ।