पर्वतमा गठबन्धन र एमालेबीच यस्तो हुँदै छ प्रतिस्पर्धा

पर्वतमा गठबन्धन र एमालेबीच यस्तो हुँदै छ प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशको पर्वत जिल्लामा दुई नगरपालिकासहित सात स्थानीय तह छन् । ०७४ सालको स्थानीय चुनावका आधारमा एमाले र कांग्रेस जिल्लाका प्रतिस्पर्धी दल हुन् । कुनै पालिका नजिते पनि माओवादी तेस्रो दल हो । सातमध्ये एमालेले चार र कांग्रेसले तीन पालिका जितेका छन् ।

कांग्रेसले कुस्मा नगरपालिका, जलजला र पैयु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ । कुस्मा नगरपालिकामा कांग्रेसले ८१८ मतान्तरले एमालेलाई पराजित गरेको थियो । वैशाख ३० गते हुन लागेको चुनावमा पर्वतमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । कुस्मामा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पदमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् । जिल्लामा एमाले एक्लै प्रतिस्पर्धामा छ ।

एमालेले फलेवास नगरपालिकासहित महाशिला, विहादी र मोदी गाउँपालिकाका जितेको छ । फलेवासमा ३८४ मतान्तरले कांग्रेस पराजित भएको थियो । महाशिला गाउँपालिकामा पनि ४४३ मतान्तरले कांग्रेस पराजित भएको थियो । मोदी गाउँपालिकामा भने एमाले नै बलियो देखिन्छ । कांग्रेस–माओवादीले विगतमा एमालेले जितेको फलेवास नगरपालिका र महाशिला गाउँपालिकालाई पनि प्रतिष्ठा बनाएका छन् ।

महाशिला गाउँपालिकामा कांग्रेसले अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा फलेवास र महाशिलामा एउटा वडाबाहेक सबै पद एमालेले जितेको थियो । त्यसकारण एमालेले फलेवास र महाशिलालाई आफ्नो गढका रूपमा दाबी गर्छ । अहिले कांग्रेस–माओवादीबीच तालमेल भएको हुँदा एमालेलाई विगतको बिरासत जोगाउने चुनौती छ । त्यसमाथि एकीकृत समाजवादीले समेत केही भोट काट्ने चिन्ता एमालेलाई छ ।

विहादी गाउँपालिकामा पनि गठबन्धनका कारण एमालेलाई चुनौती छ । यद्यपि, नयाँ मतदाता, विगतमा जनप्रतिनिधिले गरेको काम र अहिले प्रतिस्पर्धामा देखिएमा दलका उम्मेदवारको लोकप्रियतालगायत जितहारका फ्याक्टर बन्न सक्छन् । त्यसकारण यी पालिकामा गठबन्धन र एमालेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

पर्वतमा स्थानीय निर्वाचनका लागि १ लाख २२ हजार ५० मतदाता छन् । त्यसमध्ये ६२ हजार ६६ महिला र ५९ हजार ९ सय ८४ पुरुष मतदाता छन् । निर्वाचनमा ६ राष्ट्रियबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका १४ दल दर्ता छन् ।