महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा विप्लव नेतृत्वको पार्टीका मतदाता निर्णायक

महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा विप्लव नेतृत्वको पार्टीका मतदाता निर्णायक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशको कालिकोट जिल्लामा चुनावी सरगर्मी बढ्दो छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दलहरूले उम्मेदवारी मनोनयनसँगै प्रचारप्रसारलाई तीव्रता दिएका छन् । स्थानीय चुनावका लागि माओवादी र कांग्रेसले ठाउँ हेरेर तालमेल गरेका छन् भने एमाले एक्लै प्रतिस्पर्धामा उत्रेको छ ।

जिल्लामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि नौवटै पालिकामा स्वतन्त्र उम्मेदवार खडा गरेको छ । कालिकोट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं माओवादी नेता महेन्द्रबहादुर शाही र विप्लव नेतृत्वको पार्टी नेकपाका प्रवक्ता प्रकाण्डको गृहजिल्ला हो ।

जिल्लामा तीन नगरपालिकासहित नौ स्थानीय तह छन् । ०७४ को निर्वाचन हेर्दा जिल्लामा माओवादी केन्द्रको वर्चस्व छ । नौमध्ये माओवादी केन्द्रले पाँच पालिका जितेको थियो भने एमालेले तीन र कांग्रेसले एक पालिका जितेका थिए । माओवादीले तिलागुफा र रासकोट नगरपालिकासहित पचालझरना, पलाता र सान्नीत्रिवेणी गाउँपालिका जितेको थियो ।

तिलागुफा नगरपालिकाको मेयरमा माओवादीका उम्मेदवार १ हजार ८ सय ५१ मत ल्याएर विजयी भएका थिए । प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १ हजार ६ सय ८७ मत ल्याए । यहाँ १ सय ६४ मतको अन्तर देखिन्छ । रासकोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार २ हजार १ सय १५ मत ल्याएर विजयी भएका थिए । एमालेका उम्मेदार १ हजार ८ सय ३० मत ल्याएका पराजित भए । कांग्रेसका उम्मेदवारले १ हजार ४ सय २७ मत ल्याएका थिए ।

पचालझरना गाउँपालिकामा माओवादी उम्मेदवारले ३ सय ९९ मतान्तरले जितेका थिए । पलाता गाउँपालिकामा माओवादी उम्मेदवारले २ सय ३७ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए । सान्नीत्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले ४ सय ७६ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए ।

एमालेले खाँडाचक्र नगरपालिकासहित कालिका र नरहरिनाथ गाउँपालिका जितेको थियो । खाँडाचक्रको प्रमुख पदमा एमालेका उम्मेदवार २ हजार २ सय ५ मत ल्याएर विजयी भएका थिए । माओवादी केन्द्रका उम्मेदवारले १ हजार ४ सय ६१ मत ल्याएर पराजित भएका थिए ।

कांग्रेसका उम्मेदवारले १ हजार ४ सय २९ मत ल्याएका थिए । कालिका गाउँपालिमा एमाले उम्मेदवारले २ हजार २ सय ७४ मत ल्याएर अध्यक्षमा विजयी भएका थिए । माओवादी केन्द्रका उम्मेदवारले १ हजार ५ सय २ मत ल्याएर पराजित भएका थिए । यो पालिकामा नेमकिपाले पनि राम्रै मत ल्याएको थियो ।

नरहरिनाथ गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेदवारले २ हजार ४ सय ६० मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवारले २ हजार २ सय २८ मत प्राप्त गरेर पराजित भए । यहाँ २ सय ३२ मतान्तरले जितहार भएको थियो । माओवादी केन्द्रका उम्मेदवारले २ हजार १ सय ३७ मत प्राप्त गरेका थिए ।

एउटा मात्रै जितेको कांग्रेसले महावै गाउँपालिकामा १ हजार ३ सय ४५ मत ल्याएको थियो । माओवादी केन्द्रका उम्मेदवार १ हजार २ सय ७६ मत ल्याएर पराजित भएका थिए । यहाँ ६९ मतको अन्तरमा हारजित भएको थियो । माओवादी र एमाले विगतमा जितेका पालिका जोगाउने रणनीतिमा देखिन्छन् ।

कांग्रेस भने एमाले विभाजनको फाइदा उठाउँदै केही पालिका बढाउने रणनीतिमा देखिन्छ भने विप्लव नेतृत्वको पार्टीका मतदाता निर्णायक देखिन्छन् । जिल्लामा ८० हजार ४ सय १६ मतदाता छन् । त्यसमध्ये ४१ हजार ९ सय ४४ पुरुष र ३८ हजार ४ सय ७२ महिला छन् ।