काठमाण्डु- सशस्त्र प्रहरी बलमा डीआईजीबाट एआईजी बढुवा सिफारीस भएको छ । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारीस भएको हो । सशस्त्रमा वरियतामा अघि रहेका डीआईजी नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् ।
बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएका थिए । गृहमन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई मात्र एआईजीमा बढुवा सिफारीस गरेको स्रोतको दावी छ ।
डीआईजी पौडेलसहित चन्द्रप्रकाश गौतम,वंशी दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए ।
तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकास पाएका थिए । केसीको ठाउंमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
अर्याल र पौडेलको रिक्त एआईजी पदमा त्यसै दिन सूचना प्रकाशित गरिएको थियो । अर्यालसंगै एआईजीको दावेदार पौडेललाई एकल बढुवा गर्न उनको मात्र बढुवा गरिएको स्रोतको दावी छ । अर्को पदमा केही दिनमा बढुवा गर्ने तयारी छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको दबावमा गृहमन्त्रालयले पौडेललाई सिनियर बनाउन उनको मात्र बढुवा सिफारीस गर्न लगाएको स्रोतको दावी छ । रिक्त अर्को एआईजी पदमा गौतम र दाहाल र प्रधानमध्ये एक जना बढुवा हुनेछन् ।
सशस्त्रमा अर्को एक एआईजी पद रिक्त हुंदा हुंदै अरु प्रतिस्पर्धीको बढुवा नगर्नुलाई धेरैले सकरात्मक रुपमा लिएका छैनन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समेत त्यसमा अडान लिन नसकेको भन्दै उनको आलोचना सुरु भएको छ ।
पौडेल उनकै ब्याचका अधिकारी हुन् । उनि अर्यालपछी महानिरीक्षक बन्ने लाइनमा समेत छन् ।




प्रतिक्रिया