काठमाण्डु – मधेस प्रदेशको जिल्ला बारामा १६ वटा स्थानीय तह छन् । नेपालमा दुईवटा उपमहानगरपालिका भएका तीनवटा मात्रै जिल्ला छन् । तिनैमध्येको एक हो बारा । दाङ र सुनसरी जिल्लासँगै बारामा पनि दुई उपमहानगर छन् । यहाँ कलैया र जितपुर–सिमरा उपमहानगरपालिका, ६ नगरपालिका र ८ वटा गाउँपालिका छन् ।
गत चुनावको परिणामका आधारमा बारामा कांग्रेस सबैभन्दा ठूलो दल हो । उसको मुख्यतः मधेसकेन्द्रित दलसँग प्रतिस्पर्धा देखिन्छ । ०७४ सालको चुनावमा बारामा कांग्रेसले ६ तथा संघीय समाजवादी फोरमले चार र राष्ट्रिय जनता पार्टी (राजपा)ले तीन पालिका जितेका थिए । अहिले फोरम र राजपा दुवै दल छैनन् । फोरमको ठाउँमा जनता समाजवादी पार्टी (जसपा) र राजपाको स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भएको छ ।
बारामा एमालेले दुई र लोकतान्त्रिक फोरमले एक पालिका जितेका थिए । लोकतान्त्रिक फोरम पछि कांग्रेसमा मिलेकाले उसको संख्या सात पुगेको थियो । कांग्रेसले कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकामा मेयर–उपमेयर तथा निजगढ र सिम्रौनगढ नगरपालिकामा मेयर जितेको थियो । यस्तै, उसले करैयामाई गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र बारागढीमा अध्यक्ष पनि जित्यो ।
संघीय समाजवादी फोरमले फेटा, सुवर्ण र आदर्श–कोतवाल गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा पचरौता नगरपालिकाको मेयर जितेको थियो । राजपा देवताल, परवानीपुर र प्रसौनी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जित्न सफल भयो । एमालेले जितपुर–सिमरा उपमहानगर र कोल्हवी नगरपालिकाको मेयर–उपमेयर जितेको थियो । पछि कांग्रेससँग मिलेको फोरम लोकतान्त्रिकले विश्रामपुर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जितेको थियो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि दलहरू मैदानमा उत्रिएका छन् । सत्ता साझेदार दलबीच केन्द्रमा भएको सहमतिअनुसार बाराका दुई उपमहानगरपालिकामध्ये जितपुर–सिमराको मेयर माओवादी र उपमेयर कांग्रेस तथा कलैयाको मेयर कांग्रेस र उपमेयर जसपाले पाएको छ ।
जिल्लाका तीनवटा गाउँपालिका अध्यक्षले पार्टी फेरेर फेरि उम्मेदवारी दिएका छन् । आदर्श–कोतवालमा जसपा छाडेर शेरे मुस्तुफाले एमालेबाट उम्मेदवारी दिएका छन् । फेटाका अध्यक्ष अमिरीलालप्रसाद कलवार पनि एमालेमा लागेर अध्यक्षका उम्मेदवार बनेका छन् । उनले पनि अघिल्लो चुनाव फोरमबाट जितेका थिए । निजगढ नगरपालिकामा कांग्रेस र माओवादी मिलेका छन् । अघिल्लो चुनावमा पनि उनीहरू मिलेर लडेका थिए । जसपा र एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएका छन् ।
जिल्लाका अधिकांश पालिकामा कांग्रेस र जसपाबीच प्रतिस्पर्धा देखिन्छ । यसअघि एमालेले जितेको जितपुर–सिमरा उपमहानगरमा यसपटक गठबन्धन बलियो छ । कांग्रेसले जितेको कलैयामा अन्य दलको सहयोगले उसलाई नै सहज भएको छ ।
एमालेले जितेको कोल्हवी यसपटक फुत्कन सक्छ । किनकि उसले निकै कम मतान्तरले अघिल्लोपटक जितेको थियो । अहिले पार्टी विभाजनका कारण उसलाई समस्या हुन सक्छ । अघिल्लोपटक राजपाले जितेका पालिकामा यसपटक लोसपा उत्तिकै मजबुत छैन । जसपाले पनि आफ्ना नेता रोक्न सकेको छैन । यसको फाइदा कांग्रेस र एमालेलाई हुन सक्छ । तर, धेरै तहमा एमाले निकै कमजोर छ ।
यसअघि संघीय समाजवादी फोरमले जितेको फेटामा यसपटक कांग्रेस बलियो देखिन्छ । समग्रमा बारामा संघीय सत्ता साझेदार दलबीच नै आपसमा प्रतिस्पर्धा देखिन्छ । लोकतान्त्रिक समाजवादी पार्टीलाई यसपटक पहिलेको नतिजा दोहो¥याउन कठिन छ । कांग्रेस फेरि पनि पहिलो हुने निश्चित छ ।
पहिले कतै नजितेको माओवादीले यसपटक जितपुर–सिमरा उपमहानगरमा बाजी मार्न सक्छ । एमालेले उपमहानगर गुमाउने लगभग निश्चित देखिन्छ । तर, उसले केही गाउँपालिकामा जित्ने आशा गरेको छ । जसपाले पहिलेकै नतिजा दोहो¥याउन सक्ने सम्भावना छ । जिल्लामा आगामी चुनावका लागि ४ लाख २३ हजार ३ सय २७ मतदाता छन् । तीमध्ये २ लाख ३१ हजार ८ सय २६ पुरुष र १ लाख ९१ हजार ४ सय ९० महिला छन् ।




















प्रतिक्रिया