काठमाण्डु – यहि बैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । उक्त निर्वाचनबाट स्थानीय तहका लागि ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
सोहि निर्वाचन सुरक्षाका लागि भर्ना भएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । दुई जनाको दुर्घटनामा मृत्यु भएको र एक जना सुतेकै अवस्थामा मृत भेटिएका हुन् । एक जनाले भने विष सेवन गरेर आत्महत्या गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए ।
उनका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी ६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो । यस्तै नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको हो ।
सर्केगाड गाउँपालिका–६ हुम्लाका जसबहादुर रोका भने सुतेकै अवस्थामा मृत भेटिएको एसएसपी केसीले जानकारी दिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले विष सेवन गरेर आत्महत्या गरेकी हुन् ।
सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय आइतबार गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध नहुने प्रवक्ता केसीले जानकारी दिए ।
निर्वाचन सुरक्षाका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको थियो । यसैबीच आचरण विपरीत गतिविधि गरेको आरोपमा ४८ जना म्यादी प्रहरीलाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




प्रतिक्रिया