काठमाण्डु – इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्ट निलम्बनमा परेका छन् ।
निर्वाचन सुरक्षा खटिएको बेला मदिरा सेवन गरि मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले छानविनका लागि भन्दै प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टलाई ३ महिनाका लागि निलम्बन गरेको हो ।
भट्टले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवम् अन्य प्रहरी कर्मचारीहरुलाई असर पु¥याउने किसिमको कार्य गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी÷दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निज उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णय अनुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले जनाएको छ ।




प्रतिक्रिया