स्थानीय निर्वाचन : मकवानपुरका तीन पालिकामा पुरानै नेतृत्व

स्थानीय निर्वाचन : मकवानपुरका तीन पालिकामा पुरानै नेतृत्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मकवानपुर जिल्लाको तीन वटा गाउँपालिकाको नेतृत्वमा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । मकवानपुरको बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकामा पुरानै नेतृत्व दोहोरिएका हुन् ।

बागमतीमा माओवादीका सर्केश घलान, भीमफेदीमा एमालेका हिदम लामा र राक्सिराङमा कांग्रेसका राजकुमार मल्लले दोस्रो कार्यकालको लागि नेतृत्व गर्ने अवसर पाएका हुन् ।

बागमतीका घलानले एमालेका खेमराज जर्घा मगर, भीमफेदीका लामाले माओवादीका बद्रीबहादुर स्याङ्तान र राक्सिराङका मल्लले एमालेका बाबुलाल स्याङ्तालाई हराउँदै दोस्रो कार्यकालका लागि पनि जित निकालेका हुन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिका बाहेक सबै पालिकामा पुरानै नेतृत्वले दोहो¥याउने चाहना सहित उम्मेदवारी दिएका थिए ।

दोस्रो कार्यकालको नेतृत्व गर्ने इच्छासहित चुनाव लडेका मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती कांग्रेसका रञ्जन कालाखेतीसँग पराजित भए । त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईं कांग्रेसका दोर्जे लामा स्याङ्तानसंग पराजित भए ।

अघिल्लो निर्वाचनमा हुमागाईंले स्याङ्तानलाई नै पराजित गरेका थिए । अघिल्लो चुनावमा एमालेबाट जिते पनि पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी) मा लागेका कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले पनि हार व्यहोरे । अघिल्लो पटक उनै मोक्तानले हराएका कांग्रेसका लोक मुक्तानले यस पटक एमालेका नरेन्द्र रिजाललाई हराउँदा उनी तेस्रो हुन पुगेका हुन् ।

यस्तै ईन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामा पनि यस पटक पराजित भए । अघिल्लो पटक एमालेबाट निर्वाचित उनी पार्टी विभाजनसँगै नेकपा एसतर्फ लागेका थिए । ईन्द्रसरोवरमा कांग्रेसका विश्व लामालाई हराउँदै एमालेका देवकृष्ण पुडासैनी विजयी भए ।