काठमाण्डु – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकाले अब कुनै पनि बहानामा उनीहरुको समस्याको नजरअन्दाज गर्न नहुने उल्लेख गरे । सङ्घीय निजामती विधेयक तत्काल सङ्घीय संसद्मा पारित गरेर कार्यान्वयनमा ल्याउनसमेत उनले आग्रह गरे ।
बहुभाषिक नीति लागू गरेर एकभन्दा बढी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गराउन अध्यक्ष यादवले माग गरे । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न आग्रह गर्दै सिमान्तकृत र बहिस्करणमा पारिएका समुदायलाई विशेष ध्यान दिनुपर्ने उनले बताए । उनले पछाडि पारिएको वर्ग तथा समूहलाई प्राथमिकता राख्न, ४० प्रतिशतभन्दा बढी रहेका युवालाई केन्द्रमा राख्न, आर्थिक दृष्टिकोणले पछाडि परेका तराई–मधेसका जिल्लालाई यथेष्ट बजेटको प्रबन्ध गर्न अध्यक्ष यादवले आग्रह गरे । विकासलाई सन्तुलित तवरले अगाडि बढाउने गरी कार्यक्रम अगाडि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए ।




प्रतिक्रिया