अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा धर्ना

अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा धर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका छन्। टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका हुन्।

सरकारले गत आइतबार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो।

उनीहरुले अध्यादेश अविलम्व प्रमाणिकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन्। धर्नामा सहभागीहरुले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणिकरण हुनुपर्नेमा जोड दिएका छन्।

धर्नामा उपस्थितहरुले ‘न्याय देउ, न्याय देउ, रेशम चौधरीलाई बाहिर लेउ’, ‘मानवताको अधिकार, हाम्रो पनि बराबर’, ‘रेशमवाद जिन्दवाद’, ‘हाम्रो देश, हाम्रो अध्यादेश’, ‘जनताको लागि लडेको, जेलमै सड्नुपरेको’, ‘चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौ भनन’लगायतका प्लेकार्ड बोकेका थिए ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने मनसायसहित अध्यादेश ल्याइएको भन्दै सरकारकाे देशव्यापी विरोध भइरहेकाे छ ।