बुधबार कांग्रेस संसदीय दलको नेता छान्न निर्वाचन हुने, कसले मार्ला बाजी ?

बुधबार कांग्रेस संसदीय दलको नेता छान्न निर्वाचन हुने, कसले मार्ला बाजी ?


काठमाण्डु- नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न बुधबार निर्वाचन हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबारका लागि मिति तोकेको हो ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा ती सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

जसअनुसार बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको हो ।सोमबार मतदाता नामावली प्रकाशित गरिने समितिकी सदस्य पुष्पा भुसालले जानकारी दिएकी छन् ।

कांग्रेसमा संसदीय दलको नेतामा यसपटक त्रिपक्षीय भिडन्त हुने सम्भावना बढेको छ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्रीमा दोहोरिनका लागि संसदीय दलको नेतामा दोहोरिन चाहन्छन् । कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले पनि संसदीय दलको नेतृत्वका लागि तयारी सुरु गरेका छन् ।

त्यसैगरी कांग्रेसका महामन्त्री गगन थापाले पनि यसपटक आफू संसदीय दलको नेतामा भिड्ने तयारी गरिसकेका छन् ।