सत्ता गठबन्धनकाे साथ छाेडेर घर न घाटको हुन छैन: माधव नेपाल

सत्ता गठबन्धनकाे साथ छाेडेर घर न घाटको हुन छैन: माधव नेपाल


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते भएको निर्वाचनबाट नेपाली कांग्रेसले फाइदा लिएको बताएका छन् ।

सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस बाहेक अन्य दलहरुले नोक्सानी बेहोरेको दावी गरेका हुन् ।

‘यो निर्वाचनलाई कुनै पार्टीलाई बहुमत दिएको छैन । अरु जम्मैले नोक्सानी बेहोरे, फाइदा लियो नेपाली कांग्रेसले । त्यो स्वभाविक थियो ।’, अध्यक्ष नेपालले भने । त्यसैगरी उनले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् ।

आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको अध्यक्ष नेपालको भनाइ छ । ‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं । गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’, उनले भने ।

त्यसैगरी अध्यक्ष नेपालले हालको सत्ता गठबन्धन छाडे आफूहरु घर न घाटको हुने बताए । उनले नयाँ सरकार गठनमा सत्ता गठबन्धन फूटे आफूहरु घर न घाटको हुने बताएका हुन् । ‘ कसैले बामपन्थीको मात्रै सरकार बनाउ भनिरहेका छन् त्यो पनि अल्मल्याउने कुरा मात्रै हो । त्यसो हुनाले यो कुरालाई सजिलै पत्याउन सक्दैनौ । भएको विश्वास गुमाउने, हुँदै नभएको विश्वास गरेर हामी घर न घाटको हुने त्यस्तो गल्ती हामी गर्न सक्दैनौं। ’, उनले भने ।

नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ । तर, एकीकृत समाजवादीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न बने सकेन ।