कांग्रेस संसदीय दलमा देउवाको पल्ला भारी, गगन थापाको ७ मत नकट्ने हिसाव

कांग्रेस संसदीय दलमा देउवाको पल्ला भारी, गगन थापाको ७ मत नकट्ने हिसाव


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलमा तीन जना नेता उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको उम्मेदवार बन्ने लगभग निश्चित भएको हो ।

कांग्रेसमा संस्थापनबाट सभापति देउवा उम्मेदवार बन्ने निश्चित भएपनि संस्थापन इतर समुहमा भने अहिलेसम्म उम्मेदवारी टुंगो लागेको छैन् । कांग्रेस महामन्त्री थापाले संसदिय दलको नेतामा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।

सहमतिका लागि नेता कोइराला र थापाबीच पटक पटक छलफल भएपनि टुंगो लाग्न सकेको छैन । कोइराला समुहको बैठक आज काठमाण्डौंको होटल एम्बेस्डरमा बसेपनि बैठक निष्कर्षविहीन भएको छ । बैठकअघि काठमाण्डौंको होटल याक एण्ड यतिमा नेता कोइराला,चन्द्र भण्डारी र महामन्त्री विश्वप्रकाश शर्माबीच छलफल भएको थियो ।

थापाले दल नेताका लागि आफ्नो प्रस्ताव बन्न नेता कोइरालालाई आग्रह गरेपनि उनि उम्मेदवार बन्न इच्छुक देखिएका छन् । समानुपातिक र प्रत्यक्षतर्फ गरी संसदमा कांग्रेसको ८९ सिट छ । संस्थापन इतरबाट दुई जना उम्मेदवार बनेसंगै त्यसको सिधै लाभ प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई हुने देखिन्छ ।

कोइराला समुहबाट एक जना मात्र उम्मेदवार बनाउन अर्का महासचिव शर्मा दौडधुपमा लागेका छन् । तर, त्यो सम्भावना निकै कम भएको स्रोत बताउंछ । मंगलबार फेरी कोइराला समुहको छलफल हुने कार्यक्रम छ ।

संसदीय दलको नेता चयन गर्न कांग्रेसमा बुधबार ८ बजेदेखि १० बजेसम्म मतदान हुने कार्यक्रम छ । दलमा तीन जना उम्मेदवार भए देउवाले भारी मतले जित्ने सम्भावना छ ।

सभापति देउवाले दल नेतामा उठ्ने भएपछि सांसदहरुसंगको छलफललाई तिव्र पारेका छन् । उनले ५५ देखि ६५ को बिचमा मत पाउने, कोइरालाले २५ देखि ३२ मत पाउने र थापाको ७ मत नकट्ने अनुमान छ ।

महामन्त्री थापाको पक्षमा अहिलेसम्म खुलेर शर्मा र सन्तोष चालिसे मात्र लागेका छन् । कोइराला उम्मेदवार बनेको खण्डमा थापाको अवस्था निकै कमजोर हुने कांग्रेस स्रोत बताउंछ ।