काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कंदै छन् । चीनमा उपचाररत पुनको स्वास्थ्यमा सुधार भएपछि चाइना साउथर्न एयरलाइन्सबाट गोन्झाओ हुँदै मंगलबार दिउँसो नेपाल आउन लागेका छन्।
वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।
उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो। पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन्।
नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको उनले बताइन्। उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो।
हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ। यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो।




प्रतिक्रिया