कांग्रेसमा नेतृत्व पुस्तान्तरण गर्ने सपना पुरा नभएपछि…

कांग्रेसमा नेतृत्व पुस्तान्तरण गर्ने सपना पुरा नभएपछि…


काठमाण्डु- कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले नयाँ सरकारमा सहभागि नभई पार्टी संगठनलाई मात्र ध्यान दिने बताएका हुन् ।

कांग्रेसमा पुस्तान्तरण हुनुपर्ने र अब युवाले नेतृत्व गर्नुपर्ने माग थापा र शर्माले राख्दै आएका थिए । यही एजेण्डाका साथ बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग गगन थापा चुनावी मैदानमा उत्रिए ।

तर, गगन थापाले आफ्नै समुहबाट पनि भोट पाएनन् । थापा समूहकै केही सांसदहरुले भने देउवालाई समर्थन गरे। निर्वाचनमा कांग्रेसका नवनिर्वाचिन ८९ सांसदले मतदान गरेका थिए ।

जसमा देउवा अर्थात् संस्थापन समूहका ५९ तथा गगन शेखर समूहका ३१ सांसद सहभागी थिए । तर, थापाले जम्मा २५ मत मात्र पाए । नतिजाअनुसार भने थापाले आफ्नै समूहका सांसदहरूको समेत मत नपाएको प्रष्ट हुन्छ ।  कांग्रेसमा नेतृत्व पुस्तान्तरण गर्न चुनावी मैदानमा होमिएका थापालाई आफ्नै समुहका सांसदले विश्वास गरेनन् ।

यससँगै कांग्रेसमा युवाको नेतृत्व ल्याउने उनको सपना पुरा हुन सकेन । थापासँगै अर्का महामन्त्री शर्माको पनि सपना पुरा भएन । बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाका प्रतिस्पर्धी रहेका थापालाई शर्माले समर्थन दिएका थिए । तर थापा देउवासँग ठूलो मतान्तरले पराजित भए ।

थापा पराजित भएपछि शर्माले भने, ‘अब हामी पार्टी कार्यालयमा बसेर काम गर्छौं। पार्टीलाई सुसंगठित गर्ने धेरै काम हामी दुवै जनाको जिम्मामा छ। अब मन्त्रीका लागि पहल हुँदैन।’ त्यस्तै थापाले पनि अब सरकारमा मन्त्री हुने चाहना नरहेको बताए ।

त्यसैगरी उनले अगामी दिनमा पनि आफ्नो एजेण्डालाई नछोड्ने दावी गरे । ‘‘म थाक्दिनँ, निराश हुन्नँ। अरु मेहनत गर्छु। अरु लाग्छु। संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो अजेन्डाचाहिँ किन थियो, के कारणले थियो भन्नेचाहिँ थप साथीहरुको बीचमा निरन्तर लगिराख्छु।’, देउवासँग भारी मतान्तरले हारेपछि उनले भने ।

नेतृत्व पुस्तान्तरण गर्ने सपना पुरा नभएपछि यी दुवै महामन्त्री पुन: एकै ठाउमा उभिएका छन् । फेरि आफ्नो एजेण्डाबाट पछि नहट्ने र नेतृत्व पुस्तान्तरण गर्नतर्फ लागिरहने थापा र शर्माकाे मनशाय रहेकाे छ ।