पहिलो चरणमा प्रधानममन्त्री बन्न प्रचण्डको दौडधुपः देउवालाई गलाउन एमालेसँग संवाद

पहिलो चरणमा प्रधानममन्त्री बन्न प्रचण्डको दौडधुपः देउवालाई गलाउन एमालेसँग संवाद


काठमाण्डु- संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नयाँ सरकार गठन गर्ने कसरतमा लागेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन् । विषेश गरेर प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेस र नेकपा माओवादी केन्द्र नयाँ सरकार गठनको कसरतमा लागेका छन् ।

सत्ता साझेदारीसहितका विषयमा माओवादी केन्द्रले कांग्रेससँग निरन्तर छलफल गरिरहेको छ । अबको नयाँ सरकार पनि हालतको सत्ता गठबन्धनकै नेतृत्वमा बन्ने देखिएको छ । गणितीय हिसाबले हेर्दा हालकोको गठबन्धनले नै सरकार बनाउन सक्ने देखिएको हो ।

तर, सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पहिलो चरणमा प्रधानमन्त्री को बन्नेबारे सहमति जुट्न सकेको छैन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका दावेदार हुन् ।

छैटौंपटक प्रधानमन्त्री बन्न लागिपरेका देउवा लगायत नेपाली कांग्रेसका नेताहरुले ठुलो दलको हैसियतले कुनै पनि हालतमा आफूहरुले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका छन् । यता प्रचण्ड पनि सरकार गठनमा माओवादी केन्द्रको प्रमुख भुमिका रहेकाले पहिलो चरणमा आफूले प्रधानमन्त्री पद पाउनु पर्ने बताउँदै आएका छन् ।

यसविषयमा प्रचण्डले देउवासँग पनि छलफल गरिसकेका छन् । प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो कार्यकाल आफ्नो पार्टीलाई दिन देउवालाई आग्रह गरेका छन् ।

तर, देउवा पहिलाे चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार छैनन् । प्रचण्डले देउवालाई गलाउनकै लागि उनले एमालेसँग पनि संवाद गरिरहेका छन् । एमालेसँग संवाद बढाए पनि प्रचण्ड यही गठबन्धनलाई निरन्तरता दिन चाहन्छन्। देउवाले मनोमानी गरे गठबन्धनबाट बाहिरिने र एमालेसँग मिल्ने प्रचण्डको रणनीति देखिएको छ ।