नयाँ सरकार गठनको समय भोली साँझसम्म, देउवाकै नेतृत्वमा सरकार बन्ने सम्भावना

नयाँ सरकार गठनको समय भोली साँझसम्म, देउवाकै नेतृत्वमा सरकार बन्ने सम्भावना


काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि दिएको समय आइतबार साँझ सकिने भएको छ । तर, राजनीतिक दलहरुले हालसम्म पनि बहुमत जुटाउन सकेका छैनन् ।

बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल भइरहे पनि सहमति जुट्न नसकेको हो । राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनु पर्ने हुन्छ । त्यो समयसीमा सकिनै लाग्दा पनि दलहरुले सरकार गठनको खाका समेत तयार पार्न सकेका छैनन् ।

हालको सत्ता गठबन्धन कै नेतृत्वमा नयाँ सरकार बन्ने देखिएको छ । तर, सत्ता गठबन्धनभित्र भने भागबन्डामा कुरा मिल्न सकेको छैन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री बन्ने अडान राखेपछि सहमति हुन नसकेकाे हाे । स्रोतका अनुसार पहिलो चरणमा प्रचण्डले प्रधानमन्त्रीमा दावी गरेपनि देउवाकै नेतृत्वमा सरकार बन्ने देखिएको छ ।