काठमाण्डु- नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले माओवादी केन्द्र प्रतिपक्षमा बस्न तयार भएको बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्वबारे विवाद भइरहेका बेला बस्नेतले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले राख्ने अवस्था आए माओवादी प्रतिपक्षमा बस्ने बताएका हुन् ।
पूर्व गृहमन्त्री समेत रहेका नेता बस्नेतले माओवादीले देशमा सरकार विहिनताको अवस्था नचाहेको भन्दै आफुहरु सहज हिसावले प्रतिपक्षमा बस्न तयार रहेको धारणा राखे ।
‘माओवादी राजनीतिको मुलधार हो । राजनीतिक दल हुनुको नाताले यो सरकारमा जानुहुन्न भन्ने होईन । तर, सरकार नभई बस्न सक्दैन भन्ने कुरा पनि गलत हो । गठबन्धनमा कुरा नमिले हामी प्रतिपक्षमा बस्छौं । ’ बस्नेतले भने ।
उनले कांग्रेसले प्रधानमन्त्री वा राष्ट्रपतिमध्ये एक पद नछोडे आफुहरुले विकल्प सोच्ने चेतावनी दिए । नेपाली कांग्रेसभित्र प्रधानमन्त्री र राष्ट्रपति दुवै पद छोड्न नहुने दबाव नेतृत्वलाई बढ्दै गएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा आलैपालो सरकारको नेतृत्व गर्न सहमत भएपनि पहिलो कार्यकाल छोड्न भने तयार देखिएका छैनन । यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल समेत प्रधानमन्त्री जसरी पनि पहिलो कार्यकालमै बन्ने प्रयासमा छन् ।
नेता बस्नेत, वर्षमान पुन र देव गुरुङ सरकारमा सम्मानजनक भुमिका नपाए प्रतिपक्षमा बस्नेत लाईनमा छन् ।
बस्नेतले काठमाण्डौंपाटीसंग कुरा गर्दै भने ‘हामी कांग्रेसलाई चुनाव जिताउंन र उसको सरकार बनाउने सिडी होईनौं । यदी शक्ति वांडफांडमा कुरा मिलेन भने हामी आफ्नो बाटो रोज्छौं । कांग्रेसले कसरी सरकार बनाउंछ त्यो उसैले जानोस । तर, हामी सरकार विहिनताको स्थिती चाहंदैनौ ।’




प्रतिक्रिया