काठमाण्डु- नेपाली कांग्रेसले पछिल्लो समय पुरानो गठबन्धन ब्युँताउने प्रयास गरिरहेको छ । गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलग्गिए पछि नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन भत्किएको थियो ।
त्यसपछि नेकपा एमालेसहित अन्य साना सात दलको समर्थनमा प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बने । पछिल्लो समय नेकपा माओवादी र नेकपा एमालेबीच राष्ट्रपतिको विषयमा खटपट भइरहेका बेला नेपाली कांग्रेस पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने प्रयासमा लागेको हो ।
यसका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग बुधबार छलफल गरेको छ । कांग्रेस, माओवादी र समाजवादीबीच बुधबार भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको कांग्रेसका एक नेताले बताए । ती नेताका अनुसार चुनावअघिकै गठबन्धन ब्युँताउनेगरी समझदारी भइरहेको छ ।
गत मंसिर ४ गते भएको निर्वाचनपछि पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अटेर गरेपछि प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धनबाट अलग्गिएर एमालेको कित्तामा पुगेका थिए ।
प्रधानमन्त्री प्रण्डलाई संसदको सबै भन्दा ठुलाे दलसमेत रहेको नेपाली कांग्रेसले विश्वासको मत नदिने ठहर गरिएको थियो । तर, पुस २५ गते राती प्रधानमन्त्री प्रचण्ड देउवालाई विश्वासको मत माग्न उनको निवास धुम्बाराही पुगे । पुस २५ गते राती प्रचण्डले देउवालाई भेटेपछि पुस २६ गते संसदमा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो ।
त्यसपछि भने पुस १० गते नेकपा एमालेसँग भएको सहमित कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्ड आनाकानी गरिरहेका छन् । पुस १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच प्रधानमन्त्रीमा ओलोपालाे र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । तर, नेकपा एमालेलाई राष्ट्रपति दिन प्रचण्डले आनाकानी गरिरहेका हुन् ।
पछिल्लो समय प्रचण्ड नेपाली कांग्रेससँग नजिकिन थालेका छन् । कांग्रेसले पनि प्रचण्डलाई यदि राष्ट्रपति आफूलाई दिए प्रधानमन्त्रीमा पाँचै वर्ष सघाउने औपचारिक गरिसकेको छ ।
आइतबार राति नेपाली कांग्रेसका नेताहरु बालुवाटार छिरेका थिए । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेलाई समर्थन नगर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग नजिकिरहेका बेला नेकपा एमालेका नेताहरु भने झस्किएका छन् । एमालेका कतिपय नेताहरुले भने प्रचण्डले आफूहरुलाई धोका दिन सक्ने पनि बताइरहेका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन जोगाउने पक्षमा आफहरु रहेपनि प्रचण्डको भरोसा नभएको बताए । मंगलबार सुर्खेतको दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले नेकपा एमाले सत्ता गठबन्धन जोगाउने पक्षमा रहेपनि प्रधानमन्त्री प्रचण्ड अस्थिर रहेकाले भरोसा नभएको बताएका हुन् ।
‘अस्थिर राजनीतिले कसैलाई फाइदा हुँदैन। कुनै गन्तव्यमा पुग्न स्थायित्व हुनुपर्ने हो। तर प्रचण्डमा त्यो स्थिरता देखिँदैन। प्रचण्डले यो गठबन्धन टुटाए चरम अवसरवादी भएको प्रमाण हुनेछ।’, उनले भनेका थिए।
यसैबीच बुधबार बालुवाटारमा भएको छलफलमा ओलीले प्रचण्डलाई सत्ता गठबन्धनको भविष्यप्रति तपाईँको भूमिका के हो ? भनेर समेत प्रश्न गरेका छन् । त्यसकारण पछिल्लो राजनीतिक अवस्था हेर्दा पुरानो गठबन्धन ब्युँतिन लागेकोसमेत आँकलन गरिएको छ ।




प्रतिक्रिया