काठमाण्डु – नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको संयुक्त तालिम जेसीईटीको चालिसौं संस्करण हुने भएको छ ।
भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौं उपत्यकामा तालिम सञ्चालन हुनेछ ।
नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरूका सैन्य संगठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ ।
भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित भदौ २१ गते अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र विमान भदौ २२ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।
यसैबीच, संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक गस्तीमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली भदौ २० गते प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको छ ।




प्रतिक्रिया