काठमाण्डु – महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन कसरी पास गर्ने भन्ने सहमतिबिनै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको बैठक आज पुनः सुरु भएको हो ।
अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरूले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ । महामन्त्री थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेन्डाका अतिरिक्त परिमार्जनसहित पेस भएका महासमिति बैठकका प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुँदै आएको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदनमाथि छलफल केन्द्रित भइरहेको छ ।
महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र अर्का महामन्त्री शर्माको पार्टीबाट प्रधानमन्त्रीदेखि सांसद बन्न कार्यकाल तोक्नुपर्ने प्रस्तावमा विवाद छ ।
संस्थापन पक्षले महामन्त्रीद्वयको यो प्रस्ताव परिमार्जन गर्न चाहेको छ। तर, इतर पक्ष प्रस्ताव संशोधन गर्न नहुने अडानमा छ । यसले केन्द्रीय समितिले आज निर्णय गर्ने सम्भावना कम रहेको नेताहरू बताउँछन् ।




प्रतिक्रिया