कांग्रेसले आज महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै

कांग्रेसले आज महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्नेछ । दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक आजै सकिनेछ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा हिजो बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका सबै प्रस्तावलाई आइतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गर्ने सहमति भएको थियो ।

साउन २३ देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित भएको थियो ।

थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ ।

यस्तै,अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको ‘एक्जिट पोलिसी’ संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गरिनेछ ।

१५औं महाधिवेशनको कार्यतालिकाका विषयमा अर्को बैठकले निर्णय लिने र संविधान संशोधन मस्यौदा समिति बनाउने शीर्ष तहमा सहमति बनेकोले सोहीअनुसार आजको बैठकले निर्णय गर्नेछ ।

शीर्ष तहमा टुंगिन बाँकी रहेका विषयमा सहमति खोज्न केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ । केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ ।

सभापति शेरबहादुर देउवा, दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले धारणा राखेपछि निर्णयहरु पारित गर्दै बैठक सकिनेछ ।

गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो ।