अब सुन धितो राख्दा ५० लाख भन्दाबढी कर्जा नपाइने, सेयरधनीले सोही बैंकबाट कर्जा लिन नपाउने

अब सुन धितो राख्दा ५० लाख भन्दाबढी कर्जा नपाइने, सेयरधनीले सोही बैंकबाट कर्जा लिन नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुन धितो राख्दा अब ५० लाख रुपैयाँ भन्दाबढी कर्जा नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो ।

निर्देशनको बुँदा नम्बर ५ मा थप व्यवस्था गर्दै केन्द्रीय बैंकले सुन धितो कर्जाको एक ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन । कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ ।

यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ । तथाकथित कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने व्यवस्था रहेको छ ।

यस्तै कुनै बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा माथि सेयर भएका सर्वसाधारण समूहका सेयरधनीका साथै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र निजको एकाघर परिवारका सदस्यले सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् ।

यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था रहेको थियो । अब संस्थापकमात्रै होइन, साधारण सेयरसमेत १ प्रतिशतभन्दा बढी छ भने सो सुविधा प्रयोग गर्न नपाइने भएको छ ।०.५ प्रतिशत संस्थापक सेयर रहेको सेयरधनीले पनि सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा मार्जिन कल गर्नेसम्बन्धी व्यवस्था उक्त कर्जाको प्रोडक्ट पेपरमा नै उल्लेख गर्नुपर्ने भएको छ ।

सेयर धितो कर्जा दिएका ऋणीलाई कस्तो अवस्थामा मार्जिक कल आउँछ भनेर उक्त कर्जा लिँदाको बखतमा गरिने सम्झौतामा नै खुलाउने व्यवस्था गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

सेयरको मूल्य घट्दै जाँदा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धमा पनि स्पस्ट व्यवस्था कर्जा लगानी गर्ने प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्ने भएको हो । यसमा नीतिगत व्यवस्थामा कुनै परिमार्जन भएको छैन ।