कैलाली– २७ वर्षदेखि बन्द रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो ।
पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए ।
विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिए ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२:३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १:२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २:०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउने तालिका छ ।
त्यसैगरी काठमाडौंदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।




प्रतिक्रिया