काठमाण्डु – शंकरापुर नगरपालिका–५ पालुबारीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुसकोट घर भई हाल काठमाण्डुको काँडाघारी बस्ने २२ वर्षीय संजय तामाङ रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०५१ प २१ १९ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४९ प २८ ९६ राखी तामाङले चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल दाङ घर भएका मिलन नेपालीले काठमाण्डुको बालाजुबाट हराएको भनि काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको छ ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया