धनगढी – कैलाली कारागारमा भएको हरिसिंह पालीको रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का २८ वर्षीय पालीको कैलाली कारागारमा पुगेकै दिन रहस्यमय मृत्यु भएपछि अनुसन्धानका लागि सई नाथलाई पक्राउ गरिएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सई नाथविरुद्ध मृतककी पत्नी जानकी साउँदले दिएको जाहेरीपछि पक्राउ गरिएको जानकारी दिए ।
मृतक पाली सई नाथकै जाहेरीमा बैंकिङ कसूरमा दोषी ठहरिएर कारागार पुगेका थिए । कैलाली जिल्ला अदालतले फागुन २९ गते पालीलाई १० दिन कैद र २ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
डडेल्धुरा प्रहरीले पालीलाई जेठ २९ गते पक्राउ गरी जेठ ३० गते कैलाली प्रहरीलाई बुझाएकोमा कैलाली प्रहरीले असार १ गते उनलाई कारागार चलान गरेको थियो । कारागार चलान भएको भोलिपल्टै पालीको मृत्यु भएपछि घटना शंकास्पद बनेको छ ।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा प्रहरी, प्रशासन, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि तथा पीडित पक्षका प्रतिनिधि रहेका छन् ।
मृतकको शरीरमा निलडाम रहेको बताउँदै पीडित पक्षले नाथमाथि कारवाहीको माग गरेको छ ।




प्रतिक्रिया