काठमाण्डु – भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य साढे २४ लाख घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीसहित कार्यालय सहयोगी टीकाराम राउतलाई समेत घुस रकमसहित मंगलबार पक्राउ गरेको हो ।
चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टाको फाइल रोकेर घुस मागेको अख्तियारले जनाएको छ ।
आचार्यले कार्यालय सहयोगी राउतमार्फत् जग्गाको लगत कट्टाका लागि घुस रकम लिएको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले उनीहरूलाई मालपोत कार्यालय परिसरबाटै घुस लिएको रकम पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रेस विज्ञप्ति
जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ घुस/रिसवत रु. २४,५०,०००।– माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोवाइल डिभाइस २ थान र भूमिसुधार शाखाका नायब सुब्बा दिपक प्रसाद अधिकारीको साथबाट मोबाइल थान-१ तथा कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोवाइल थान-१ सहित घुस/रिसवत रकम रु.२४,५०,०००।–समेत भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट आज मिति २०८२।०३।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल




प्रतिक्रिया