काठमाण्डु – भारतमा बन्धक बनाएर मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ घर भएका ४५ वर्षीय रेशम बहादुर खत्री रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाण्डुको बल्खुबाट र रेशम बहादुरलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा पर्सा वीरगञ्ज महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा पीडितलाई भारतमा चालकको काममा लगाई दिन्छु भनि प्रलोभन देखाएर २०८२ वैशाख १९ गते बिहान काठमाण्डुको बल्खुबाट पर्साको वीरगञ्ज पुर्याई वीरगञ्जमा रेशम बहादुरले रिसिभ गरी थप प्रलोभनमा पारी भारतको रक्सौल हुँदै पटना पुर्याएको खुल्न आएको छ ।
पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाइनामिक कम्पनीमा प्रतिव्यक्ति १० हजार भारतीय रूपैयाँ तिर्न लगाई तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको, फेसबूक मेसेन्जरमा अन्य मानिसहरूसँग समेत नयाँ आईडी बनाई कुरा गर्न लगाई विभिन्न प्रलोभनमा पारी भारत बोलाई अनलाइन स्क्यामिङको काम गर्न बाध्य बनाएर २ लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागज समेत गरी करीब २ महिनासम्म बन्धक बनाई राखेको समेत खुल्न आएको छ ।
उनीहरूउपर जिल्ला अदालत काठमाण्डुबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया