काठमाण्डु– लामो समयदेखिको वर्षा अभावले चिन्तित सिरहाका किसानहरू गएरातिको पानीले केही राहत महशुस गरिरहेका छन्। जिल्लामा करिब ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा परेको वर्षाले किसानलाई आशाको किरण देखाएको हो।
लहान–१८ का किसान वीरेन्द्र चौधरी भन्छन्, “पानीले पहेँलिएका बीउ रोप्न सकिने आशा देखिएको छ, तर अझै पर्याप्त छैन।”
सिंचाइको सुविधा नभएका क्षेत्रमा खेत सुक्दै गएका थिए, बीउ अंकुरिन सकिरहेका थिएनन्। यस्तो अवस्थामा परेको पानीले माटो चिसिएको र रोपाइँ सुरु गर्न सकिने अवस्था बनाएको उनीहरू बताउँछन्।
तर लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादव सावधानी अपनाउन आग्रह गर्छन्। “रातिको पानीले राहत त दिएको छ,” उनी भन्छन्, “तर निरन्तर एक-दुई दिन पानी पर्यो भनेमात्र रोपाइँ सहज बन्छ।”
सिरहाको कृषि ज्ञान केन्द्रका अनुसार हालसम्म जिल्लामा करिब ५० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। जिल्लाको दक्षिणी भागमा केही ठाउँमा भूमिगत पानी प्रयोग गरेर रोपाइँ गरिएको भए पनि उत्तरी भागका अधिकांश किसान अझै प्रतिक्षामा छन्।
मधेसमा सक्रिय मनसुन, तर अपेक्षाअनुसार वर्षा छैन
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन प्रणाली नेपालतर्फ सर्दै गरे पनि अझै मधेसमा व्यापक र निरन्तर वर्षा भएको छैन।
गत २४ घण्टाको तथ्यांकअनुसार सिरहामा ९९४ मिमी
सप्तरी (बरमझिया)मा ९१.८ मिमी
लहानमा ७७.२ मिमी
धनुषा (हर्दिनाथ) मा ४७ मिमी
चिसापानीमा ६८.२ मिमी
गोलबजारमा ५२.२ मिमी
गौशालामा ५७.६ मिमी
तुलसी (धनुषा)मा ४७.६ मिमी
सर्लाहीमा ४८ मिमी
यसबाहेक बारा, पर्सा र रौतहटमा भने केवल हल्का वर्षा मात्र मापन गरिएको छ।
अबको भर मौसममा
मौसमविद्हरू भन्छन्, “मधेसको बाँकी रोपाइँ सक्नका लागि अझै केही दिन निरन्तर र पर्याप्त पानी पर्न जरुरी छ।”
किसान, कृषि कार्यालय र मौसम विभाग सबैको ध्यान अबको एक(दुई दिनको मौसममा केन्द्रित छ। यदि वर्षा नपरे उपयुक्त समयमा रोपाइँ सम्भव नहुने खतरा अझै टरिसकेको छैन।




प्रतिक्रिया