काठमाण्डु – हालसालै ‘बेबी डल आर्ची’ नामले चर्चित मोडेल अर्चिता फुकनका तस्बिरहरू अमेरिकी एडल्ट फिल्म स्टार केन्ड्रा लस्टसँग मोर्फ गरिएको अवस्थामा सामाजिक सञ्जालमा फैलियो ।
असमको डिब्रुगढका एक व्यक्तिलाई नक्कली सामाजिक सञ्जाल खाता बनाएर ‘बेबी डल आर्ची’ नामले चर्चित अर्चिता फुकनका छेडछाड गरिएका तस्बिरहरू पोस्ट गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गर्यो ।
प्रहरीका अनुसार प्रतीम बोरा नाम गरेका ती व्यक्ति अर्चिता फुकनका पूर्व प्रेमी हुन् । उनले फुकनलाई बदनाम गर्न र हैरानी दिने उद्देश्यले ती आपत्तिजनक तस्बिरहरू पोस्ट गरेको बयान दिए ।
याे त एउटा उदाहरण मात्र हो । बलिवुड अभिनेत्रीहरू सामाजिक सञ्जालको जालोमा फस्दै गएको लामो सूची नै छ ।
पछिल्लो समय एकपछि अर्को गर्दै डीपफेक भिडिओ भाइरल भइरहेका छन् । तिनमा नाम चलेका अभिनेत्रीको जस्तै अनुहार देखाइन्छ ।
रश्मिका मन्दाना, प्रियङ्का चोपडा जोनस र आलिया भट्ट त्यस्ता आपत्तिजनक भिडिओको निसानामा परेका केही कलाकार हुन्।
ती भिडिओमा अरू कसैको अनुहार र आवाज हटाएर उनीहरूको अनुहार र आवाज दुरुस्त देखिने गरी राखिएको हुन्छ । प्रायः सामाजिक सञ्जालबाट तस्बिरहरू निकालेर अनुमति बिना नै प्रयोग गरिन्छ ।
न्याटली पोट्र्मन र इमा वाट्सनजस्ता अभिनेत्रीहरू पनि डीपफेकको सिकार बनेका छन् ।
आर्टिफिशल इन्टेलिजन्स (एआई)का क्षेत्रमा भएको उन्नतिले मानिसको नक्कली अडिओ र भिडिओ बनाउन अझ सजिलो भएको छ ।
‘अहिले एआई टूलहरू धेरै परिष्कृत भएका छन् । त्यसले हामीलाई अरू देशमा त्यस्ता सामग्री किन बढिरहेका छन् भन्ने बताउँछ’, भारतकी एआईविज्ञ आरती समानी भन्छिन् ।
उनका अनुसार एआईका धेरै टूलहरू उपलब्ध छन् जसले कम वा खर्चबिनै वास्तविकजस्तो देखिने कृत्रिम तस्बिरहरू बनाउन सघाउँछन् ।
ठूलो जनसंख्या रहेको युवा पिँढी, सामाजिक सञ्जालको अत्यधिक प्रयोग र बलीवुडमोह तथा सलेब्रटी कल्चरप्रतिको अनुरागलाई एआईविज्ञ समानी यसको कारण मान्छिन् ।
‘परिणामस्वरूप भिडिओहरू द्रुत गतिमा फैलिन्छन् र समस्या बढ्छ,’ उनी भन्छिन् । त्यस्ता भिडिओ बनाउन प्रेरित गर्ने कुराहरू दुई गुना भएको उनको ठहर छ ।
प्रायः अश्लील भिडिओहरूका निम्ति नक्कली तस्बिरहरू प्रयोग गरिन्छ । तर नक्कली भिडिओ जेबाट पनि बनाइएको हुन सक्छ ।
केही समयअघि कालो रंगको कसिलो पहिरन लगाएकी एक महिलाको भिडिओमा २७ वर्षीया अभिनेत्री रश्मिकाको अनुहार राखिएको एउटा भिडिओ इन्स्टाग्राममा देखा पर्यो र भिडिओ भाइरल भयो ।
तर ‘अल्ट न्यूज’का एक पत्रकारले तथ्यजाँच गर्दै त्यो डीपफेक भिडिओ भएको औँल्याइदिए । मन्दानाले त्यस घटनालाई अत्यन्त भयानक भन्दै मानिसहरूलाई त्यस्तो सामग्री शेयर नगर्न आग्रह गरिन् ।
त्यसपछि चर्चित अभिनेत्री प्रियंका चोपडा जोनसको पनि त्यस्तै एउटा भिडिओ भाइरल भयो । त्यो भिडिओमा उनकै अनुहार छ तर एउटा कुनै सामानलाई प्रवर्धन गर्ने गरी उनको आवाज हटाएर अर्कैको आवाज राखिएको छ । त्यो भिडिओमा लगानी गर्ने तरिकाहरू पनि सिकाइएको छ ।
अभिनेत्री आलिया भट्ट पनि एउटा नक्कली भिडिओका कारण चर्चामा आइन् । त्यो भिडिओमा उनको जस्तै अनुहार देखिने एक महिलाले क्यामराअगाडि उभिएर विभिन्न अश्लील संकेत गरेको देखिन्छ ।
अभिनेत्री कट्रिना कैफसहित अन्य कलाकारहरू समेत नक्कली भिडिओ बनाउनेहरूको सिकार बनेका छन् ।
‘टाइगर थ्री’ चलचित्रको एउटा दृश्यका लागि उनले तौलिया मात्र लगाएकी थिइन् । त्यो तस्बिरमा उनको कपडा फेरेर शरीर अझ खुल्ला देखिने बनाएको थियो ।
अनुसन्धान फर्म सेन्सिटी एआईको अनुमानअनुसार सबै डीपफेकमध्ये ९० देखि ९५ प्रतिशतबीच बिनाअनुमति बनाइएका अश्लील सामग्री हुन्छन् । तीमध्ये अधिकांशले महिलालाई निसाना बनाउँछन् ।
सूचना प्रविधि क्षेत्रका जानकारहरू महिलाहरूका लागि यो निकै समस्याकारी रहेको बताउँछन् । किनभने यसलाई प्रयोग गरेर अश्लील र हिंसाका तस्बिरहरू सिर्जना गर्न सकिन्छ । यस्तो भिडियो बनाउनुको मनोविज्ञान भनेको महिलाको महत्त्व प्रायः सौन्दर्यको मापदण्डसँग जोडिएको र महिलाको शरीरलाई वस्तुको रूपमा हेरिने गरिएको रहेको छ ।




प्रतिक्रिया