नेप्से एआईका नाममा ठगी धन्दा, कसरी जोगिने ?

नेप्से एआईका नाममा ठगी धन्दा, कसरी जोगिने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हाल सामाजिक सञ्जालमार्फत फैलिरहेको नयाँ प्रकारको साइबर ठगीबारे सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

केही दिनयता फेसबूक, इन्स्टाग्राम, टिकटक लगायतका प्लेटफर्महरूमा ‘नेप्से एआई’ नामक एप डाउनलोड गर्न प्रलोभन दिने विज्ञापनहरू देखापरेका छन्, जसमा कृत्रिम बुद्धिमत्ताको सहायताले शेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने जस्ता भ्रामक दाबीहरू गरिएको ब्युरोले जनाएको छ ।

प्रयोगकर्ताले यस्तो एप डाउनलोड गरी इन्स्टल गरेपछि रिमोट सेसन खोली पीडितको मोबाइलमा पूर्ण पहुँच प्राप्त गरिन्छ र क्षणभरमै बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र स्थानान्तरण गरिनुका साथै मोबाइलमा रहेका सम्पूर्ण डेटा र एपहरू मेटाएर प्रमाण नष्ट गरिने कार्य समेत भइरहेका जनाइएको छ ।

ब्युरोका अनुसार हालैको एउटा घटनामा ‘जोन डोइ’ (सांकेतिक नाम) नामक व्यक्तिले फेसबूकमा देखिएको विज्ञापनबाट नेप्से एआई एप डाउनलोड गरी इन्स्टल गरेका थिए । एप सक्रिय हुनासाथ उनको मोबाइल स्क्रीन केही समयका लागि ब्ल्यांक भयो र विभिन्न बैंक खातामा जम्मा भएको २८ लाख ६१ हजार रकम अन्य खातामा सारियो । साथै उनको मोबाइलमा रहेका सम्पूर्ण डाटा र एपहरू समेत मेटाइएका थिए ।

यसअघि पनि यस्तै प्रकृतिका ठूला घटनाबारे उजुरीहरू ब्यूरोमा दर्ता भइसकेका छन् । यस्ता घटनाबाट बच्न सीआईबीले २ तहको प्रमाणीकरण प्रयोग गर्न, पासवर्ड समय–समयमा परिवर्तन गर्न, विज्ञापन लिंक वा अपरिचित स्रोतबाट आएको कुनै पनि एप कहिल्यै इन्स्टल नगर्न, डिजिटल उपकरणमा एनिडेस्क र टीमभ्युअर जस्ता रिमोट एक्सेस सफ्टवेयर प्रयोग गरेर अपरिचित व्यक्तिलाई पहुँच नदिन र एपहरू केवल आधिकारिक स्रोत जस्तै गूगल प्ले स्टोर वा एप स्टोरबाट मात्र डाउनलोड गर्न आग्रह गरेको छ ।

ब्यूरोले यस्ता घटना घटेको थाहा पाउनासाथ सम्बन्धित बैंक तथा वित्तीय संस्था, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तत्काल जानकारी गराउन समेत अनुरोध गरेको छ ।