रुपन्देही-३ उपनिर्वाचनका लागि २७ दलले दिए निवेदन

रुपन्देही-३ उपनिर्वाचनका लागि २७ दलले दिए निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले दल दर्ताका लागि साउन २१ गतेदेखि साउन २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । आयोगका अनुसार यस अवधिमा २७ दलबाट २८ वटा निवेदन परेको छ ।

पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टीबाट दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता भएको छ ।

नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले दल दर्ता गराएका छन् भने अध्यक्ष रञ्जिता श्रेष्ठले पनि छुट्टै दल दर्ता गराएकी हुन् ।

उपनिर्वाचनका लागि निवेदन दिने अन्य दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत छन् ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशन गरिनेछ ।

रुपन्देही–३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आगामी कात्तिक १७ गते सोमबार मतदान हुँदैछ । असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।