काठमाण्डु – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको छ ।
शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।




प्रतिक्रिया