कुवेतमा मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु, ४० भारतीय अस्पताल भर्ना

कुवेतमा मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु, ४० भारतीय अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कुवेतमा प्रतिबन्धित मदिरा सेवनका कारण पछिल्लो ३ दिनमै ९ जना नेपालीले ज्यान गुमाएका छन्। अझै केही उपचाररत छन् भने केहीलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ।

कुवेतस्थित अस्पतालहरूले नेपाली राजदूतावासलाई दिएको जानकारीअनुसार, मृत्यु हुनेहरूको विवरण संकलन भइरहेको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार, मेथानोल मिसिएको मदिरा सेवनका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना भइरहेका छन्। नेपालीसहित अन्य एसियाली मुलुकका २३ जनाको ज्यान गइसकेको र १६० भन्दा बढी व्यक्ति उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

अदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा गम्भीर अवस्थामा रहेका बिरामीको उपचार भइरहेको छ।

अधिकांश पीडितहरू निर्माण मजदुर रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। मन्त्रालयका अधिकारीहरूले मदिरामा एन्टिफ्रिज, सोल्भेन्ट र इन्धन बनाउन प्रयोग हुने विषालु रसायन मेथानोल मिसाइएको पुष्टि गरेका छन्।

कुवेतको स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार, मेथानोलद्वारा दूषित मदिराका कारण ५ दिनमा १३ जना एशियाली नागरिकको मृत्यु, ६३ जनामा विषाक्तता, २१ जनामा दृष्टि ह्रास, ५१ जनालाई डायलासिस र ३१ जनालाई भेन्टिलेशन आवश्यक परेको लन्डनको समाचार एजेन्सी रोयटर्सले उल्लेख छ।

कुवेतमा मदिरा आयात, उत्पादन तथा सेवन पूर्ण रूपमा निषेध गरिएको छ, तर अवैध रूपमा उत्पादन हुँदै आएको र नियन्त्रण विहीन स्थानहरूमा बिक्री भइरहेको रिपोर्ट गरिएको छ । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान जारी छ।

भारतीय राजदूतावासले भारतबाटै करिब ४० भारतीयहरू अस्पतालमा भर्ना भएको बताएको छ । केही मृत्यु भएका छन्, केही गम्भीर अवस्थामा छन् भने केही निको हुँदै आएका छन् ।