काठमाण्डु – त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी–९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
शनिबार बिहान राजपथ अन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ ।
बाटो खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
यस्तै शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
उनका अनुसार रिला गाउँ माथिबाट पहिरो बगेर खोलामा बाढी आएकाले राजमार्ग अवरुद्ध भएको बताए ।
राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ । लगातार वर्षा भइरहेकाले बाटोको पहिरो पन्छ्याउँदा पनि माथिबाट पहिरो आइरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरी निरीक्षक चौधरीको भनाइ रहेको छ ।




प्रतिक्रिया