हीरक जयन्तीमा चेम्बरद्वारा भण्डारखालमा बृहत् वृक्षरोपण

हीरक जयन्तीमा चेम्बरद्वारा भण्डारखालमा बृहत् वृक्षरोपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशालास्थित भण्डारखालमा शनिवार बिहान बृहत् वृक्षरोपण गरेको छ ।

मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक बर्षगाँठको  अवसरमा चेम्बरले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा वृक्षारोपण गर्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले विश्वलाई गम्भीर चुनौती दिइरहेको वर्तमान अवस्थामा चेम्बर अफ कमर्सको पहल अत्यन्तै प्रशंसनीय भएको बताए ।

उनले भने, ‘आज गरिएको वृक्षरोपणले केवल हरियाली बढाउने मात्र होइन, भावी पुस्ताका लागि स्वच्छ तथा दीगो वातावरण सुनिश्चित गर्न ठूलो योगदान पुर्‍याउनेछ ।’ मन्त्री शाहीले विश्वव्यापी जलवायु संकटलाई समाधान गर्न सामूहिक पहलको आवश्यकतामा जोड दिए ।

हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरूको नाममा  सहभागीहरूले १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेका थिए ।

सभापति श्रेष्ठले वृक्षरोपणसँगै यसको संरक्षण र संवर्द्धनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले चेम्बरले सामाजिक उत्तरदायित्व अनुरूप आगामी दिनमा पनि वातावरण संरक्षण र दीगो विकासका गतिविधिमा अग्रणी भूमिका खेल्ने बताए ।

कार्यक्रमले चेम्बरको ७५ वर्षे यात्रामा सामाजिक तथा वातावरणीय उत्तरदायित्वलाई पनि जोडिएको सन्देश दिएको सहभागीहरूले बताए ।

साढे ७ दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरूलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।