काठमाण्डु– गुन्डा नाइकेका रूपमा परिचित राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खाली पक्राउ परेका छन्।
बैंकिङ्ग कसुरको अभियोगमा उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डुको विशेष टोलीले पक्राउ गरेको हो ।गोर्खालीलाई भद्रकालीस्थित हिरासतमा राखिएको छ ।
प्रहरीका अनुसार, गोर्खाली पक्राउ पर्नुको मुख्य कारण १० करोड रुपैयाँको चेक बाउन्स हो। परिसरका एक अधिकृतले बताएअनुसार, उक्त रकमको बाउन्स जाहेरीको आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका गोर्खालीले उक्त १० करोड रुपैयाँ कुन प्रयोजनका लागि लेनदेन गरेका थिए भन्ने विषय अहिले अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाइ छ।
राजु गोर्खाली यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भइसकेका व्यक्ति हुन्। ०५८ सालमा काठमाण्डुको सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बूको हत्या अभियोगमा उनी दोषी ठहर भई १० वर्ष कैद भुक्तान गरेका थिए।
प्रहरीले आगामी दिनमा थप अनुसन्धान गरी घटनासम्बन्धी विवरण सार्वजनिक गर्ने जनाएको छ।




प्रतिक्रिया