विपिन जोशीका आमा–बहिनीले भेटे इजरायली राष्ट्रपति र संसद् अध्यक्ष, शीघ्र रिहाइको माग

विपिन जोशीका आमा–बहिनीले भेटे इजरायली राष्ट्रपति र संसद् अध्यक्ष, शीघ्र रिहाइको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायलमा रहेका बेला हमासको कब्जामा पुगेका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आईतबार इजरायली राष्ट्रपति आइज्याक हेर्जोगसँग भेट गरी पहल गर्न आग्रह गरेका छन् ।

नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी आमा पदमा र बहिनी पुष्पाले जेरुसेलममा भएको शिष्टाचार भेटका क्रममा विपिन निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै छोराको जीवन रक्षा र तत्काल रिहाइका लागि इजरायली राष्ट्रपतिलाई अनुरोध गरिन् ।

बहिनी पुष्पाले समेत आफ्नो दाजु निर्दोष भएको स्मरण गराउँदै कुनै पनि बहानामा ढिलाइ नगरिकन बन्धक अवस्थाबाट मुक्त गर्न विशेष अपिल गरेकी छन् ।

सो अवसरमा राष्ट्रपति हेर्जोगले २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि विपिनलाई गाँजाबाट बन्धक बनाइएको घटनाबारे आफूलाई नौलो नभएको स्मरण गर्दै भने, ‘नेपाल इजरायलको असल मित्र हो, विपिन आफ्नै नागरिकझै लाग्छ । उनको रिहाइका लागि मेरो सरकार र म निरन्तर प्रयासरत छौं ।’

थप प्रभावकारी नतिजाका लागि नेपाली पक्षले पनि सम्बन्धित अरब मुलुकहरूसँग वार्ता अघि बढाउन सके सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

यसैबीच, जोशी परिवारले इजरायली संसद् (केनेस्सेट) अध्यक्ष आमिर ओहानासँग पनि भेट गरी विपिनको रिहाइका लागि जोड दिन आग्रह गरेका छन् । अध्यक्ष ओहानाले विपिनबारे निरन्तर चासो रहेको उल्लेख गर्दै भने, ‘नेपाल–इजरायलको सम्बन्ध न्यानो र मित्रवत छ, विपिनसहित सबै बन्धकहरूको रिहाइका लागि हामी सक्रियतापूर्वक लागिरहेका छौं ।’

उनले हालै जेनेभामा नेपालका समकक्षीसँगको भेटमा विपिनको विषयमा छलफल भएको स्मरण गर्दै दुवै सरकार पक्षबाट अनवरत पहल भइरहेको जानकारी दिएका छन् ।

नेपाली राजदूतावासका अनुसार आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आईतबार राजधानी जेरुसेलममा विभिन्न सरकारी उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाटमा संलग्न छन् । उनीहरूले विपिनको रिहाइका लागि निरन्तर अपिल गर्दै आएका छन् ।